शैव सस्कृति -प्राचिन साम्यवादी समाज
-रामशरण गैरे
-विषय प्रवेश
लाग्छ, जीवनलाई हेर्ने फरक-परक दृष्टिकोण भए अनुसार एउटै समाजमा रहेका अनेकौँ हाम्रा गन्तव्यहरू भिन्न-भिन्न छन्। मुक्ति के हो र मुक्ति केलाई मान्ने भन्ने बारेमा पनि हाम्रा धारणाको कुनै एकरूपता छैन्। आज आफूलाई विज्ञानमा आधारित गर्ने आजका भौतिकवादी हामीहरूले पनि मानव मुक्तिको कुनै वैज्ञानिक टुङ्गो लगाउन सकेका छैनौँ।
बरु जब एउटा भौतिकवादीलाई सांसारिक दुःखले घेरेर सङ्कटमा पार्छन् तब उसका लागि आत्महत्या, आत्म-हानी, वा हिंस्रक विद्रोह बाहेक अरू बाटाहरू बाँकी नहुने देखियो जबकी एउटा अध्यात्मवादीका लागित्यही अवस्था आध्यात्मिक जागरण, आत्म-ज्ञान, र व्यक्तिगत विकासको बाटो पनि उपलब्ध हुन्छ।
भौतिक दुःख निवारण गर्न आवश्यक र सम्भव भए पनि केवल भौतिक उपायबाट मात्र मानिसलाई मुक्त तुल्याउने कुरा बडो दुर्गम लाग्दछ। भौतिक रूपले हामी बन्धन मुक्त हुँदैमा र भौतिक दुःख निवारण हुँदैमा हाम्रा आत्मिक र दैविक दुःख निवारण हुन्छन् भन्ने हुँदैन। त्यसैले वैदिक दर्शनले आधिभौतिक, आध्यात्मिक र आधिदैविक गरि तीन विधाका दुःख निवारण गर्नुलाई मानव पुरुषार्थका रूपमा लिएको हो।
वैदिक कालसम्म हाम्रो समाज सभ्य, सुसंस्कृत अनि धार्मिक एवम अहिलेको राजनीतिक शब्द प्रयोग गरेर भन्दा साम्यवादी समाजको झल्को रहेको अनुमान गर्न सकिन्छ। जुन बेला न कुनै राज्य थियो, न कसैलाई भेदभाव थियो, न दण्ड प्रणाली थियो, न सामन्त थिए, न कोही निमुखा थिए।यसको तात्पर्य, सम्पूर्ण जगत समतामूलक सामाजिक व्यवस्थामा अधीन थियो।
हाम्रा सम्पूर्ण सभ्यता, संस्कृति र धर्म प्रकृति पूजक छन्, प्रकृतिमा आस्था भएको, बहुलवादी रहेको छ जसले सूर्य, वायु, जल, प्रकृति, जंगल, माटो (पृथ्वी), चन्द्रमा, ग्रहहरू आदिलाई पूजा गर्ने, आस्था राख्ने गरेको थियो छ। तथापि, पौराणिक काल पश्चात् भने अवतारवादलाई पालन गरेको बुझ्न सकिन्छ। जस अन्तर्गत, भगवान का विभिन्न अवतार छन् भन्ने विश्वास गर्ने, व्यक्तिमा भएका गुणअनुसार भग वानको अवतार दिने चलन रहेको देखिन्छ।
पूर्वमा शास्त्रीय दर्शनको उदय त्यो बेला भएको मान्न सकिन्छ जब ऋग्वेदको प्रथम श्लोकले “अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक हो” भनेर उद्घोष गर्यो। हाम्रा गहनतम दार्शनिक प्रश्नहरूको उत्तर फेला पार्ने उच्चतम ज्ञानको स्रोत अग्निमा, अर्थात् कार्यमा रूपान्तरण भइरहेको अवस्थाको ऊर्जामा, रहेको छ भनेर भन्यो। अग्निमा नै पदार्थ र चेतनाको, पदार्थ र ऊर्जाको, स्थूल र सूक्ष्मको, भूत र आत्माको जटिल सम्बन्धको रहस्य उद्घाटित हुन्छ भन्ने जानेर त्यस पछिको लामो समय पूर्वले अग्निलाई बुझ्नमा खर्च गर्यो।
आगोमा हवन गरेका सबै जीवित भूतहरू, चैतन्य प्राणी-वनस्पतिहरू हाम्रा आँखा अगाडि नै विघटित भएर सूक्ष्म तत्त्वमा परिणत भएर उठ्छन् र विस्तारित आकाशमा विलीन हुन्छन्। त्यसको ठीक विपरीत ऊर्जा र सूक्ष्म तत्त्वलाई मात्र ग्रहण गरेर एउटा पीपलको सानो बीज एउटा भीमकाय र स्थूल वृक्षमा परिणत हुन्छ।
वैदिक परम्पराका यी फरक दार्शनिक धारहरू एकदम भिन्न र मौलिक मान्यतामा अडिएका हुन्छन्। यो भिन्नतालाई तलको चित्रमा देखाइएको छ। जस्तो कि ब्रह्माका अनुयायीहरूले अपनाउने साङ्ख्य सिद्धान्तले भन्छ “प्रमाणको अभावमा कुनै पनि सूचना, विचार वा सिद्धान्तको सत्यता सिद्ध हुँदैन” र “ज्ञान विना मुक्ति पनि हुँदैन”[3]। यो पद्धतिले प्रमाणका आधारमा मात्र सत्यको निरूपण गर्नु पर्छ र प्रामाणिक ज्ञानलाई मात्र ज्ञानका रूपमा लिनु पर्छ भन्ने मान्दछ।
यसको सिद्धान्तले सत्यको खोज, विद्या आर्जनको सही पद्धति र वैज्ञानिक ज्ञान को आधारशिलाको निर्माण गर्दछ। साङ्ख्यमार्गीहरूका लागि सवै भन्दा ठूलो धन नै विद्या हो र जीवनको लक्ष्य ज्ञानको आधारशिलामा मुक्ति प्राप्त गर्ने हो। यो बाटो विद्याको आर्जन र वैज्ञानिक खोजमा हिँड्ने व्यक्तिहरूको हो, शिक्षण र अनु सन्धान संस्थाहरूको हो।
मानव मुक्तिका तीन मुख्य मार्ग
पूर्वका दार्शनिक उत्कर्षका समयमा नयाँ ज्ञानको उत्पादन प्रामाणिकतामा आधारित हुनु पर्ने परम्पराको विकास गरिएको थियो। त्यसैका आधारमा ज्ञानको पूर्वीय खोज प्रणालीले विज्ञान र दर्शनका धेरै वटा प्रतिस्पर्धी र परिपूरक शाखा हरूको निर्माण र विकास गर्यो। ती मध्ये तीनवटा शाखाहरू एकदम विकसित र सुसङ्गठित भएर निस्कँदै पूर्वको ठूलो भूभागमा फैलिन सफल भए। ती मध्येको एउटा हो भक्तिमार्ग जहाँ व्यक्तिले आफ्ना समस्याको समाधान पाउन कोही विचार, सम्प्रदाय, नेता, धर्मगुरु वा देवतामा आफूलाई समर्पण गर्ने र त्यसकै माध्यमबाट आफ्नो मुक्तिको मार्ग तय गर्ने हुन्छ।
अर्को मार्ग योगमार्ग हो जहाँ एउटा व्यक्तिले प्रकृति र समाजमा विद्यमान हुने विरोधाभास हरूलाई नयाँ समाधान र सिर्जनाका अवसरका रूपमा हेर्ने र तिनको एकतामा आफ्नो मुक्ति प्राप्त गर्ने विचार राख्दछ। तेस्रो मार्ग साङ्ख्यमार्ग हो जहाँ व्यक्तिले बाहिर जटिल र अस्थायी देखिने कुनै एक वस्तु, तथ्य वा प्रणाली अनेकौँ सरल र स्थायी वस्तु, प्रणाली वा नियमबाट बनेको थाहा पाउने र त्यसरी प्राप्त शुद्ध- ज्ञान, विज्ञान वा सत्य नै उसको मुक्तिको पर्याय बन्ने मान्यता राख्दछ।
यी तीनवटै मार्गबाट बन्ने एक एकीकृत दार्शनिक प्रणाली, अर्थात् त्रिमूर्ति दर्शन अहिलेको अवस्था हो। वैदिक दर्शनको त्रिभुजमा ब्रह्मा, विष्णु र महेश( शिव) लाई सर्वोच्च मानिन्छ। ब्रह्माको अर्थ रचयिता, विष्णुको अर्थ पालनकर्ता (संरक्षक) र शिव अर्थात् विनाश भनेर बुझिन्छ।शिवलाई विनाशको देवता पनि भनिन्छ।
भक्ति, योग वा साङ्ख्य जुनसुकै मार्गमा पनि अनुयायीहरू मिश्रित प्रकारका हुने गर्छन्, प्रतिद्वन्द्वीवैचारिक ध्रुव हुने गर्छन्।ती ध्रुव मध्ये एउटा भौतिकवादी, प्रकृति वादी वा पदार्थलाई सृष्टिको मूल कारण मान्ने ध्रुव हो भने अर्को चेतनावादी, ईश्वर वादी, वा ईश्वरको इच्छा र खटनपटन सृष्टिको मूल कारण हो भन्ने ध्रुव हो।
यी दुईका बीचमा एउटा मध्यमार्गी धार रहने गर्छ जसले प्रकृति-पुरुष द्वैधतालाई सृष्टि को मूल कारण मान्दछ। वैदिक दार्शनिक परम्परामा यो प्रकृति-पुरुष द्वैधता मान्ने तेस्रो धारले पदार्थ र ऊर्जा, पदार्थ र चेतना, भूत र आत्मा सधैँ सँगै रहने र तिनको संयुक्त उपस्थितिमा मात्रै यो ब्रह्माण्ड र सृष्टिको उचित व्याख्या गर्न सकिने मान्दछ।
भक्ति, योग र साङ्ख्यको आ-आफ्नै मौलिक विकास हुँदै जाँदा अन्ततः भक्तिमार्ग सवैभन्दा सङ्गठित र लडाकू बनेर निस्क्यो र व्यापक रूपमा विस्तारित भयो। आम मानिसका लागि यो अति उपयोगी रहँदा-रहँदै पनि यसले आफ्नो फैलावटका लागि विश्वासको, र कतिपय अवस्थामा अन्धविश्वासको, सहारा लिने गर्छ। फल स्वरूप विश्वासका आधारमा नभएर प्रमाणका आधारमा मात्र सत्य-तथ्यको निरूपण गर्न सकिन्छ भन्ने साङ्ख्यमार्गलाई यो भक्तिमार्गले आफ्ना बाटाका काँडाका रूपमा लिएर दमन गर्न पुग्यो।
साङ्ख्यमाथिको यो दमन पछि लामो समयसम्म रहेको भक्तिको एकल वर्चस्वले हाम्रो समाज र सभ्यताको विकासका लागि प्रतिकूल असर पार्यो। फेरि हालका समयमा आइपुग्दा पुराना अन्धविश्वासको आलोचक र प्रामाणिक ज्ञानको प्रवर्तक बनेर निस्केको आधुनिक विज्ञान बलियो बनेर निस्क्यो।
यो आधुनिक विज्ञानकोसम्पर्कमा आए पछि हाम्रो समाजको आधुनिक पुस्ता भौतिकवादी कित्तामा पुग्यो। यो भौतिकवादी पुस्ताले आफ्नासवै गहन प्रश्न हरूको उत्तर आधुनिक विज्ञानमा पाउने आशा राखेको थियो तर ती सवै प्रश्नको उत्तर त्यहाँ पनि पाउन सकेन, न त भौतिक वस्तु र सुविधाको पर्याप्तता केवलले मानिस लाई मुक्त स्थितिमा पुर्याउन सक्यो। उसले आत्मा भन्ने त्यस्तो केही हुँदैन भन्दै त आयो तर आम मानिसलाई त्यो पत्यारिलो लागेन।
आममानिसलाई जीवन बडो रहस्यमय लागिरह्यो,उनीहरूले जीवनलाई एउटा भौति वस्तुहरूको सङ्घटन मात्र मान्न तयार भएनन् बरु यसलाई संवेदना, भावना, करुणा, कामुकता, व्यक्तित्व, सुख रदुखमा जेलिएको तथाआत्मोत्थान, आत्म- जागरूकता र मुक्तिका लागि लालायित अस्तित्वका रूपमा लिइरहे।
भक्ति, योग र साङ्ख्यमा मानव मुक्तिका तीनवटा मुख्य मार्ग हुन् तर एउटै मार्ग सवै मानवका लागि उपयुक्त हुन सक्दैन। एउटै उपायबाट हाम्रो जटिल समाजका, मूलतःआज उदाउँदो शिक्षित समाजका, बहुविध समस्याहरूको समाधान वा आवश्यकताको पूर्ति गर्न सकिँदैन। भक्ति, योग वा साङ्ख्य कुनै पनि मार्गमा निहित यस्ता द्वैधता र विरोधाभास छन् कि उसको एकल वर्चस्वले अन्य दुईलाई छायामा पार्न सक्यो भने उसले आफ्नै लक्षलाई समेत नष्ट गर्न पुग्दछ। आगामी समयमा हामीलाई यो कुरा बारे थप बोध हुँदै जानेछ कि भक्ति, योग र साङ्ख्य तीनवटै क्षेत्रको सन्तुलित विकासबाट मात्रै हामीले दीर्घजीवी, सभ्य र न्यायिक समाजको विकास गर्न सफल हुने छौँ।
प्रतीकवादी भाषामा भन्दा ब्रह्मालाई प्रमाण, तर्क र विज्ञानका देवता, विष्णुलाई विश्वास, भक्ति र सुशासनका देवता, र शिवलाई अनुभव, अवलोकन र संयोजन का देवता मान्नुपर्ने हुन्छ। त्रिमूर्ति देवता र तिनमा बुनिएको दर्शनलाई बराबर महत्त्वका साथ स्थापित गर्नु पर्ने हुन्छ र तिनमा समन्वय ल्याउनु पर्ने हुन्छ। ब्रह्मा, विष्णु र शिव तीनवटै देवताका मूर्तिहरू एउटै मन्दिरमा अटाउने ती पुराना दिनहरूलाई फेरि फर्काउनु पर्ने हुन्छ।
साङ्ख्य, योग र भक्ति तीनवटै मार्गको यथोचित विकास गर्दै, कुनै एक मार्गले अर्को मार्गमाथि दमन गर्ने नभएर सह-अस्तित्वपूर्ण सहकार्य गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ। एकबाट समाधान नहुने समस्याको अर्कोद्वारा परिपूरण गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ, व्यावहारिकजगत् मा पनि र आध्यात्मिक जगत् मा पनि। तब मात्रै यो ठाउँले वैदिक कालदेखि गुमेको आफ्नो चमकलाई फेरि फर्केको देख्न पाउनेछ। यो समाज फेरि विश्वमा सत्यको प्रकाश छर्नेसमाजमा रूपान्तरित हुनेछ।
साङ्ख्य, भक्ति र योग एउटा त्यस्तो ओदानका तीनवटा खुट्टा हुन् जसमा समाजका लागि आवश्यक खाना पकाउने ताउलो बसालिएको हुन्छ।अनि प्राकृतिक सम्पदालाई बालेर त्यो ताउलामा समाजले आफूलाई चाहिने ज्ञान, विज्ञान, प्रविधि, कला, संस्कृति, रचना, सिर्जना, सुशासन,व्यापार, व्यवसाय, सुख र समृद्धि जस्ता पाकहरू पकाउँछ, खान्छ र पुष्टिन्छ।
तर यदि त्यो ओदानका तीन मध्ये कुनै एक मात्र खुट्टो भाँचिएमा त्यसको सन्तुलन गुम्छ, त्यो ताउलो पल्टन्छ र समाजले आफूलाई चाहिने सवै आहार सन्तुलित रूपमा पाउँदैन र छिटै ऊ कुपोषणको सिकार बन्न पुग्दछ। यही सन्तुलनको खाँचो बुझेर वैदिक सभ्यताले त्रिमूर्ति देवतामा उसको त्रिमूर्ति दर्शन उतार्न पुग्यो।
यो प्रणालीमा शिक्षण, सिकाई, ज्ञान, विज्ञान र अनुसन्धानको दर्शनलाई ब्रह्मा र सरस्वतीमा उतारिएको छ। विधि, प्रविधि, रचना र संयोजनको दर्शन शिव र पार्वतीमा उतारिएको छ। सुशासन, व्यापार, वाणिज्य र समृद्धिको दर्शनलाई विष्णु र लक्ष्मीमा उतारिएको छ। यी तीनवटै दर्शनको समष्टिले त्रिमूर्ति दर्शनलाई जनाउँछ। यो त्रिमूर्ति दर्शनले आफूलाई वैदिक, अवैदिक, आस्तिक, नास्तिक, ईश्वरवादी र भौतिकवादी सवैलाई समेटेको हुन्छ।
यो दर्शनले एउटा शिक्षित, चिन्तनशील, नवप्रवर्तनकारी, गतिशील, सुशासित र समृद्ध समाजमा साङ्ख्य, भक्ति र योगको सन्तुलित विकास भएको हुनु पर्छ भन्ने मान्यता राख्छ। यसले न त ज्ञान-विज्ञानको मात्र एकल प्रधानताको वकालत गर्छ, न प्रविधि र नवीनता एकलको, न सुशासन एकलको,न व्यापार वाणिज्य एकलको । त्यस्तो सन्तुलनद्वारा समाजको सुख, शान्ति, उन्नति र प्रगति टिक्छ भन्ने मान्यतालाई यो दर्शनले राख्छ।
वैदिक धर्मको औपचारिक सुरुआत
शिव महिमा भएका मुख्य तीन पुराण छन्- शिव पुराण, वायु पुराण र लिङ्ग पुराण।यीमध्ये सबैभन्दा पुरानो वायु पुराण हो।यसको केही अंश ईशापूर्व दोस्रो शताब्दीतिरै रचना भएको मानिन्छ।र, चौथो पाँचा्रै शताब्दीसम्ममा यसको रचना पूर्ण भएको मानिन्छ। यसपछि पनि विभिन्न समयमा यसमा परिमार्जन भइरहेको पाइन्छ।शिव-महिमा भएको लिंग पुराण दसौं शताब्दीतिरको हो, अर्थात् आजभन्दा हजार वर्ष पुरानो।शिव पुराण पनि यही कालखण्डको हो।तर, सत्रौं-अठारौं शताब्दीसम्म पनि यी पुराणमा संशोधन भइरहयो।शिवको कथामा पनि संशोधन भइरहयो।
यी पुराणहरूले शिवका अनेक स्वरूप, अनेक कथा, अनेक किंवदन्तीलाई सिलसिलेवर रूपमा जोड्ने काम गरे।यिनै पुराणले आज हामीले कल्पना गर्नेजस्तो शिवको स्वरूप निर्माण गर्ने काम गरे।यो कालखण्डमा शिवका मन्दिर र मूर्ति पनि उत्तिकै बने। यस अतिरिक्त, आदियोगीलाई पनि शिव भन्ने गरिएको छ, किनकि जसले बुझेको छ जुन छैन र त्यो नै परम सत्य हो।
सम्भवतः जति बेला युरोपेली तथा इरानीहरूसँग छुट्टिएर उरल संस्कृतिबाट दक्षिण एसियातर्फको यात्रामा आर्यहरू निस्किए, त्यसै बेला हिन्दू धर्मको प्रथम स्वरूप वैदिक धर्मको बीजारोपण भयो।यो पूर्व-वैदिक धर्मको चरण हो।आर्यहरू सिन्धु घाटी आइ पुगेपछि ऋग्वेदको रचना सुरु हुन्छ, यहाँबाटै वैदिक धर्मको औपचारिक सुरु आत भएको मान्न सकिन्छ।यो यात्रामा सयौं वर्ष गुज्रिएको छ। उरल संस्कृतिबाट आएको आर्य धार मात्रै हिन्दू धर्मको सम्पूर्ण स्रोत भने होइन।भारतीय आदि वासी संस्कृतिका यस्ता अनेक खोल्सीहरू यो धार्मिक नदीमा मिसिएर हिन्दू धर्म आजको स्वरूपमा आइपुगेको हो।
आर्यहरूसँग इन्द्र, अग्नि, सोम, वरुणजस्ता देवता थिए।देवताका कथाहरू थिए। उनीहरूलाई आह्वान गर्न लामालामा छन्दबद्ध ऋचा थिए।तर, ती देवताको कुनै प्रतिमा थिएनन्।देवताहरू ऋचामा थिए, कथामा थिए, चित्रमा थिएनन्।सिन्धु घाटी सभ्यताका मानिसहरूले झैं सिल वा मूर्ति बनाउने कला उनीहरूले सिकिसकेका थिएनन्।
पुरातात्विक प्रमाण भन्छ आर्यहरू यहाँ आउनुअघि सिन्धु घाटीले पर्यावरणीय संकट बेहोर्नु पर्यो।सिन्धु तथा अन्य शाखा नदीमा आएको बाढीले सहरहरू डुबाएको तथा लामो समयसम्म खडेरी परेका कारण सिन्धु घाटीको सभ्यता ओरालो लागेको थियो।यसमा आर्यहरूसँगको युद्धले सामान्य भूमिका खेलेको पनि हुनसक्छ।आर्य र सिन्धु सभ्यताका रैथानेहरूबीच युद्धभन्दा धेरै घुलमिल भएको प्रमाण पाइन्छ।
पछिल्लो समय विकास भएको मानव डीएनए परीक्षण विधिले प्रायः सबै भारतीयमा सिन्धु घाटी सभ्यताका मानिस र आर्यहरू दुवैको डीएनएको निश्चित हिस्सा भएको पत्ता लगाएको छ।फरक यही हो, कसैसँग एउटा प्रकारको डीएनएको मात्रा धेरै होला, कसैसँग अर्को।
यसरी मानिसहरू मिसिँदा धार्मिक विश्वास पनि मिसिए।यो संयोजनबाट नयाँ धार्मिक प्रणाली विकास भयो, संस्कृति र प्रथाहरू बने।दुवैका कथाहरू मिसिएर थप चाखलाग्दा कथा बने।र, देवताहरू पनि मानिसजस्तै एकआपसमा मिसिए। आर्यहरूसँग रुद्रको चाखलाग्दो कथा थियो, सिन्धु घाटीका रैथानेसँग प्रोटो शिवको प्रतिमा।रुद्रको चरित्रका लागि यो चित्र उपयुक्त भयो।रुद्रको प्रतिमाको रूपमा त्यही प्रोटो-शिवको चित्र प्रयोग हुन थाल्यो।सिन्धु घाटी सभ्यताका प्रोटो- शिव र आर्यहरूका रिसाहा रुद्र एकअर्कामा समाहित भए।यो आजभन्दा करिब तीन हजार वर्ष अगाडिको कुरा हो।
सिन्धु घाटी आइपुगेका आर्य घुमन्ते थिए।उनीहरू एकै ठाउँमा लामो समय बस्न बानी परिसकेका थिएनन्।गाईपालक भएकाले उनीहरू समयसमयमा बसाइँ सरिरहन्थे।त्यति बेला पर्यावरणीय परिवर्तनका कारण सिन्धु घाटी बस्नलाई आकर्षक पनि थिएन।त्यसैले उनीहरू अझ पूर्वतिर बसाइँ सर्दै गए।करिब पाँच सय वर्षमा उनीहरू गंगा यमुना नदीको मैदानमा आइपुगे।यसै क्रममा उनीहरू सिन्धु घाटीदेखि गंगा मैदानसम्मका रैथाने मानिसहरूसँग घुलमिल भए।
आदिवासीहरूको तीव्र हिन्दूकरण
हिन्दूकरण हुनुअघि आदिवासीहरूको ठूलोहिस्सा झाँक्री संस्कृति अर्थात् सामनिक धर्म मान्थे।यसको प्रभावले हिन्दू धर्ममा तन्त्रपद्धति प्रवेश गर्यो।सुरुमा यसलाई शैव सम्प्रदायले अभ्यास गरे र भारतभर फैलाउने काम गरे।शिवजीलाई उनीहरूले महान् तान्त्रिकका रूपमा पूजा गर्न थाले।ईशाको पहिलो शताब्दीसम्म आइपुग्दा शैव सम्प्रदाय निकै लोकप्रिय हुँदै गएको थियो।
यो समयबाट राजाहरूले बुद्ध तथा जैन धर्म त्याग गरेर वैदिक धर्मलाई स्वीकार गर्ने क्रम बढ्यो। उनीहरूमध्ये कतिपयले चाहिँ वैष्णव तथा शैव धर्म स्वीकार गरे। विशेषतः पश्चिम, पश्चिमोत्तर तथा दक्षिण भारतका राजाहरूले शैव धर्म स्वीकार गरेका थिए।शैव धर्म स्वीकार गरेका राजाहरूले यसको प्रचारमा पनि जोड दिए।
पूर्वी भारतमा केही शताब्दी अघिदेखि नै आदिवासीहरूको तीव्र हिन्दूकरण भइ रहेको थियो।उडिसा, बंगाल लगायतका क्षेत्रमा वन फँडानी गरेर खेती सुरु गर्ने र रैथाने मानिसलाई हिन्दू धर्ममा भित्याउने काम सँगसँगै चलिरहेको थियो।यो काममा वैदिक हिन्दूहरू मात्र नभएर वैष्णव, शैव लगायताका सम्प्रदाय पनि लागि परेका थिए।
सम्भवतःयी आदिवासीमाझ मातृसत्ता प्रचलित थियो।नभए पनि, मातृशक्तिको महत्व धेरै थियो।देवी पूजन उनीहरूको संस्कृतिको महत्वपूर्ण पक्ष थियो।यहाँ देवीहरूको विभिन्न स्परूपको पूजा हुन्थ्यो।शक्ति वा दुर्गा तिनैमध्ये एक प्रमुख देवी थिइन्।मानिसहरू र धर्म एकआपसमा मिसिएपछि कथाहरू पनि एकआपसमा मिसिए।कथाका पात्रहरू एकअर्कासँग संवाद गर्न थाले।जोडी नभएका देवताका जोडी बाँधिन थाले।दाइभाइ दिदीबहिनीको साइनो लाग्न थाल्यो।कथाहरू मिसिने यही क्रममा नै पश्चिमबाट आएका शिव र पूर्वकी दुर्गाबीच मायापिरती बस्न पुग्यो। दुर्गासँगै अरू थुप्रै देवीहरू शिवसँग जोडिए।उनीहरूलाई दुर्गाकै स्वरूप मानियो। शिव-शक्ति एकअर्काका परिपूरक बने।
सयौं वर्षसम्म पनि हिन्दूहरू गाईको मासु खान्थे
सिन्धु घाटी आइपुगेका आर्यहरूसँग तेज गतिमा दौडिने खाइलाग्दा मध्य एसियाली घोडा थिए।घोडाले तान्ने दुईपांग्रे रथ थियो।गाईपालन उनीहरूको मुख्य पेसा थियो।त्यसैले प्रशस्तै गाईबस्तु थिए।दूध-दहीजत्तिकै गाई मासुका लागि पनि उपयोग हुन्थ्यो।ऋग्वैदिक कालभन्दा पछि सयौं वर्षसम्म पनि हिन्दूहरू गाईको मासु खान्थे। उनीहरूको आफ्नै धार्मिक पद्धति थियो।इन्द्र आर्यहरूका सबैभन्दा ठूला देवता थिए।
इन्द्रलाई मुख्यतः गौरक्षकका रूपमा चर्चा गरिएको छ।अर्थात् अन्य जातीय समुदाय वा आर्यहरूकै अर्को समूहबाट गाईबस्तु जोगाउने देवताको रूपमा चर्चा गरिएको छ।इन्द्रपछि अग्नि, सोमलगायतका देवता महत्वपूर्ण थिए। सोमदेव, तिनै सोमरसका देवता हुन्, जुन सोमरस सोम नामक वनस्पतिबाट बनाइन्थ्यो।त्यो सोमरस अहिले पाइने सोमलता हो?बोटानिक हिस्ट्रीका अध्येताहरू करिब सहमत छन्।
आर्यहरू सिन्धु घाटी आइपुग्दा यहाँको सभ्यता अन्तिम सास फेर्दै थियो।सभ्यताको अवसान भएको र आर्यहरू त्यहाँ आइपुगेको समय लगभग मिल्न जान्छ।के आर्यहरू र सिन्धु घाटीका रैथाने मानिसहरूबीच युद्ध भएको थियो।के आर्यहरूले युद्ध जितेर सिन्धु घाटीको सभ्यता ध्वस्त पारे?पुरातात्विक प्रमाणहरूले त्यस्तो संहारकारी युद्धको प्रमाण दिँदैन।
ऋग्वेदमा पनि त्यस्तो सभ्यता नै ध्वस्त पार्ने युद्धको चर्चा छैन।दस्यु र दाससँग युद्धको चर्चा त छ, तर ती दस्यु र दास को थिए भन्ने अहिलेस्मम यकिन हुन सकेको छैन।उनीहरू सिन्धु घाटीका आदिवासी नै थिए भने त्यस्तो ठूलो महा युद्धको त्यहाँ चर्चा छैन।बरु आर्यहरूबीचकै युद्धको चर्चा ऋग्वेदमा छ।कुनै ठूलो युद्ध भएको पुरातात्विक प्रमाण पनि अहिलेसम्म पाइएको छैन। पुराणका भगवान्हरू ऋग्वेदकालमा कति जन्मिएकै थिएनन्, कतिले त्यस्तो महत्व पाएका थिएनन्।
ऋग्वेदमा विष्णुको नाम उल्लेख त छ तर त्यति महत्व दिइएको छैन।ब्रह्माको कुनै अवधारणा छैन।त्यस्तै एक साधारण देवता छन्, रुद्र।उनका छोरा मरुत्स, अर्थात् आँधीका देवताको चर्चाको क्रममा ऋग्वेदमा उनको नाम आउँछ।रुद्रको चरित्र पनि अलि नकारात्मक छ।एक क्रोधी र नचाहिने गरी ठूलो हल्लाखल्ला गर्ने देवताका रूपमा ऋग्वेदमा उनको चित्रण छ।
हिन्दुधर्म भनेको वैदिक–सनातन–वर्णाश्रम–धर्मको नै लौकिक व्यावहारिक नाम हो। त्यसमा पनि वेदको र मूल वैदिक–सनातन–वर्णाश्रम–धर्मको विरोध नगर्ने र कुनै न कुनै रूपमा वेदमूलक देखिने विभिन्न पन्थ पनि लोकमा हिन्दुधर्मभित्रकै मानिन्छन्। तसर्थ हिन्दुधर्मभित्र विभिन्न प्रकारका अनुष्ठान र उपासना पर्छन्। वैदिकहरूका शाश्वत प्रकृतिका गम्भीर तत्त्वदर्शनका आधारमा चल्ने यज्ञहरू छन्। वेदमा हविर्यज्ञ, पशुयज्ञ र सोमयज्ञहरूको विधान पाइन्छ। मन्त्रसंहिता, ब्राह्मणग्रन्थ र श्रौतसूत्रहरूको अध्ययन गरेका व्यक्तिहरूले यो कुरा बुझेकै हुन्छन्। यज्ञमा संज्ञपन गरिएको अर्थात् विधिपूर्वक प्राणवियोजन गरिएको पशु पशुयोनिबाट मुक्त भएर देवत्वमा पुग्छ भनेर शुक्लयजुर्वेदमा भनिएको छ।
शास्त्रमा ऋग्वेददेखि श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र, जैमिनीयधर्ममीमांसासूत्र, ब्रह्ममीमांसासूत्र, स्मृति, पुराण, रामायण, महाभारत,काव्य–साहित्य इत्यादिसम्ममा जतासुकै पशुयज्ञको, पशुबलिको र मांसभक्षणको उल्लेख पाइन्छ। वैदिक शास्त्रका यस्ता सयौँ ग्रन्थका हजारौँ वचनमा पशुयज्ञको, पशुबलिको र मांसभक्षणको उल्लेख पाइन्छ। सुदीर्घ परम्पराले पनि यही कुरा स्पष्ट पारेको छ। तसर्थ यस विषयमा सबै हिन्दुले स्पष्ट ज्ञान गर्न र परस्पर समन्वय गर्न आवश्यक देखिन्छ। हिन्दुहरूले सबैथरी शास्त्रीय परम्पराको आदर गरेर आफूहरूका बीचमा विदेशी–विधर्मीलाई घुसपैठ गर्न नदिनु नै बुद्धिमानी हुन्छ।
‘यक्ष्य स्वरूप’शिब
शिवलाई‘यक्ष्य स्वरूप’ पनि भनिएको छ जसको अर्थ हुन्छ तीन प्रकारका प्राणीहरू जो मानव होइनन्। त्यसो भए के शिव भनेको मानव बुद्धि(चेतना) को सर्वोत्तम उपयोगको स्थिति वा परम सत्य हो? यदि हैन भने, के शिव अलौकिक थिए ? जो छुट्टै ग्रह, पिण्ड वा लोकबाट आएर मानव बुद्धि (चेतना), विवेक र चिन्तनको प्रवर्द्धक बने?
प्राचीनकालमा मोहन जोधेडो सभ्यतामा एउटा मुद्रा भेटिन्छ सो मुद्रक अनुसार एउटा ध्यानमा बसेको मानिस र वरिपरि ६ वटा जनावर घेरेको देखिन्छ।त्यसैले इतिहासकारका अनुसार शैव धर्मको सुरुवात सिन्धु घाँटीको मोहन जोधेडो सभ्यताबाट सुरु भएको मानिन्छ ।
सिन्धु घाँटी सम्भ्यतको अन्त्यपछि आर्यहरूको उदय हुन्छ र उत्तर वैदिककालमा समाजको विकास हुँदै जाँदा र मौसमको उच्च बदलावका कारण त्यतिबेलाका मानिसहरू अति भयभित थिए र त्यो बदलाव कुनै अदृश्य शक्तिद्वारा भएको अनुमान लगाउँथे । त्यो अदृश्य शक्ति नै पासुपत ६ वटा जानवर वरपर राखी बीचमा बसेको व्यक्तिलाई मान्थे ।
उत्तर वैदिक कालमा ऋग्वेदको रचना भएको मानिन्छ र पहिलो पटक शिवलाई ऋग्वेदमा रुद्र नामले सम्बोधन गरेको भेटिन्छ र भेसजोका भेसज या चिकित्साका पनि चिकित्सा पनि भनिन्थ्यो । यजुर वेदमा शिवशंकर नाम दिएको भेटिन्छ भने अथर्ववेदमा महादेव नामले सम्बोधन गरेको भेटिन्छ। भागवतगीतामा भगवान् शिव लाई विश्वको आत्मा भनेर सम्बोधन गरेको भेटिन्छ । यसरी भगवान् शिवको नाम अनेक पार्दै गएको मानिन्छ ।
अहिलेसम्म भेटिएको शिवजीसँग सम्बन्धित पहिलो चित्र भनेको सिन्धु घाटी सभ्यताकालको सिल (माटोको सिक्का) चित्र हो।हिन्दू धर्मको विकास हुनुभन्दा पहिले नै सिन्धु नदीले बनाएको उपत्यकामा ठूलाठूला सहरसहितको सभ्यता विकास भइसकेको थियो।आजभन्दा ६ हजार वर्षपहिले त्यहाँ सहरी सभ्यता विकास हुन सुरु भएको थियो।
४५ सयदेखि ३७ सय वर्ष पहिलेको कालखण्डमा सहरी सभ्यता उन्नत चरणमा पुगेमा थियो।इतिहासकारहरूले पत्ता लगाएको यो सभ्यताको पहिलो सहर हरप्पा थियो, त्यसैले यसलाई हरप्पाको सभ्यता पनि भन्ने गरिन्छ।मोहेन्जो-दारो यहाँको सबैभन्दा ठूलो सहर थियो।यो सभ्यता आफ्नो उन्नत कालखण्डमा अफगानिस्तान को उत्तरपूर्वी भूभागदेखि सप्तसिन्धुको क्षेत्र हुँदै भारतको पन्जाब,राजस्थान लगा यतका ठाउँसम्म फैलिएको थियो।यहाँ सानाठूला गरेर एक हजारजति सहर बनेका थिए।
जब मेघस्थानिज भारत आएका थिए।उनले शिव भगवानलाई डायनाक्लुसिस नामले सम्बोधन गरेको मानिन्छ ।यसरी शिवको अनेक नाम सृजत हँदै गए र दक्षिण भारतमा शिवलाई बिरुपाक्ष, पर्वतस्वामी र चित्रेश्वर भनेर चिन्छन् ।
शिवको सवारीका रूपमा नन्दीलाई उपयोग गर्दै आएको मानिन्छ।यस धर्मका उपशकलाई नैनार भन्थियो । यिनीहरूको संख्या ६३ थियो र शिवका २८ अवतार मानिन्छन् । शिवलाई विनाशकारी रूप ४ र कल्याणकारी रूप ४ गरी आठ रूप मानिन्छ ।
विनाशकारी रूप रुद्र, उग्र, अस्नी र सर्व हुन् भने कल्याणकारी रूप भव, पाशुपत, महादेव र ईशान मानिन्छन्। त्यसैले शिव लिङ्ग कसैमा ८ वटा मुखको आकृति देखिन्छ भने कसैमा ४ वटा मुख मात्र हुन्छ किनकि पूजा गर्दा कल्याणकारी रूप मात्र पूजा हुने मानेका छन् । नेपालको पशुपतिनाथको मन्दिरमा त्यसैले होला ४ मुख भएको शिव लिङ्गको पूजा गरिन्छ र शिवका केही संयुक्त नाम पनि छन् जस्तै हरिहर, अर्दनारेश्वर आदि ।
साहित्यिक प्रमाणस्वरूप हरिसेन्को प्रयागप्रसंस्ती शिवको आराधना बाट सुरु गरेको भेटिन्छ र चन्द्रगुप्तका मन्त्री विरसेन्ले पाटली पुत्रमा शिव मन्दिर स्थापना गरेका थिए । यी तथ्यबाट स्पष्ट भन्न सकिन्छ कि गुप्त कालमा धर्म स्वतन्त्रता थियो ।गुप्त कालमा दक्षिणमा पञ्चयातन पूजाको अवधारणा थियो ।
त्यसै पञ्चयातन शैलीका मन्दिर बनेका थिए ।पञ्चयातन पूजामा मुख्य देउता शिवलाई मान्थे भने विष्णु, गणेश, ब्रहृमा र शक्तिलाई पूजेर पछि शिव कहाँ पुगिन्छ भन्ने परिकल्पना थियो ।गुप्तकालको पञ्चयातन शैलीको मन्दिरको प्रमाण देव गणको दश अवतार मन्दिर अहिले पनि भेटिन्छ ।
शिवको पहिले आकृतिको रूपमा सिन्धु घाँटी सभ्यतामा देखिन्छ भने मूर्ति कलाका रूपमा गुप्तकालमा पहिलो पटक देखापरेको मानिन्छ र मूर्तिकलाको विकास पनि गुप्तकालदेखि भएको केही तथ्य प्रमाणको आधारमा भन्न सकिन्छ । भक्तिभावको इतिहास हेर्दा छ सय विसीतिर श्वतेश्वर उपनिषदमा पहिलो पटक भक्ति भावना दर्शाएको भेटिन्छ । त्यसपछि भगवान् शिव जनताका देउता बन्छन्, भक्तजनको विश्वास जित्न सफल हुन्छन् । त्योभन्दा पहिले भक्ति आराधनाको कुनै अवधारणा नभेटेको इतिहासकार भन्छन् ।
४००बीसीतिर पाड्निको अष्टाध्याय व्याकरण ग्रन्थमा सुरुमा नै शिवको आरा धनाबाट सुरु गरेको भेटिन्छ । त्यसैले भन्न सकिन्छ कि पाड्नी पनि शिवभक्त थिए र कालिदासको मालबिकाग्निमित्र पनि शिवको आराधना ओम नमः शिवाय, बाट सुरु भएको भेटिन्छ । कालिदास शिवभक्त थिए यो कुरा स्पष्ट भन्न सकिन्छ ।
यी तथ्यबाट हामी आकलन गर्न सक्छौ पहिले एउटा सामान्य मानिने भगवान् । शिव कालान्तर अनुसार पुजिए मूर्ति बनाउने भक्ति भाव राख्दै जनविश्वास बढ्दै गयो र क्रमानुसार शैव धर्को विकास हुँदै गयो ।तर वृक्ष पूजाको संकल्पना सिन्धु घाँटी सभ्यतादेखि होला भनी मान्न सकिन्छ । तर, मन्दिरको संकल्पमा मौर्य कालमा भएको इतिहासकारहरूको भनाइ छ ।
मौर्य कालमा पूजा गर्ने ठाउँलाई अलि उचो बनाउने र त्यसको बिचमा ढुङ्गा या मूर्ति राख्थे ढुङ्गालाई शिव लिङ्ग यानी शिवको प्रतीकको रूपमा पूजा खुला आकाश मुनि न कुनै भित्ता हुन्थ्यो न कुनै छत हुन्थ्यो न कुनै गजुर हुन्थ्यो बीचमा मूर्ति या ढुङ्गा राखेर माथिबाट जल अर्पण गर्थे । अहिलेका चौताराको संकल्पमा पनि मौर्य कालदेखि चल्दै आएको मानिन्छ । पछि आएर चौतारोको भित्र गर्भगृहको निर्माण भयो र बाहिरबाट पर्खाल दिँदै छत र गजुर राख्न थाले ।
मौर्य उत्तरकालमा शिवको आराधनाको लक्षण देखा परेको मानिन्छ नन्द वंशमा आएर एउटा शक्तिशाली देउताको रूपमा पूजिन्छन् । यसको प्रमाणस्वरूप कुषाण वंशका राजा विनकडसियसको पालामा स्वर्ण मुद्रामा नन्दी, त्रिशूल र महेश्वरको चित्र अंकित भेटिन्छ ।हुबिस्कको मुद्रामा शिवले गजासुर राक्षसलाई वध गरेको चित्र भेटिन्छ ।
यो सब पुरातात्विक प्रमाणबाट यो बुझिन्छ कि शैव धर्मको विकास मौर्य वंश सुरु हुँदै गुप्तकालसम्म विकसित मन्दिर, भगवान र भक्तसम्मको सम्बन्ध बनि सकेको थियो ।गुप्तकालमा राजधर्म वैष्णव थियो तर धार्मिक स्वतन्त्रताका कारण पर्जा शैव धर्म पनि मान्थे।
‘प्रोटो-शिव’
सिन्धु घाटी सभ्यतामा पुरातत्व अध्येताहरूले सहरी योजनाका अचम्म लाग्ने तथ्यहरू फेला पार्दै आएका छन्।त्यस बेला सहरलाई विभिन्न ससाना एकाइमा बाँडिएको हुन्थ्यो र प्रत्येक एकाइको बीचमा सभाहल र अन्नभण्डारसहितको ठूलो भवन हुन्थ्यो।यसबाहिर विभिन्न वृत्ताकार घेरामा सर्वसाधारणका घरहरू हुन्थे। प्रत्येक घेराको बीचमा फराकिलो सडक हुन्थ्यो।सडकको दुवै किनारमा ढल निकासको राम्रो व्यवस्थासहितको नाली हुन्थ्यो, जसलाई माथिबाट ढुंगा वा माटोको टाइल्सले ढाकेर फराकिलो सडकपेटी बनाइएको हुन्थ्यो।रोचक कुरा त, त्यस बेला पनि हरेक घरमा ‘बाथरुम’ थियो।यसबाहेक सार्वजनिक धारामा भेला भएर नुहाउने चलन पनि थियो।
सार्वजनिक धारामा नुहाउने चलन कुनै धार्मिक वा सांस्कृतिक प्रचलन हुन सक्छ। यो सभ्यताका अधिकांश सहरमा विशाल विशाल पानी ट्यांकीसहितका सार्वजनिक धाराहरू भेटिए।यसले सिन्धु घाटी सभ्यताका मानिसहरूमा धार्मिक संस्कार विकास भइसकेको थियो भन्ने संकेत गर्छ।यसबाहेक उनीहरूले बनाएका केही मूर्ति र सिलले पनि उनीहरूको धर्मिक आस्था झल्काए।यस्ता सिलमध्ये अधिकांशमा एकसिंगे गैंडा, भैंसी, बाघ लगायतको चित्र अंकित थिए।साँढे सिलमा धेरै अंकित जनावर हो।यहाँ मान्छेको आकृति भएका विभिन्न सिल पनि भेटिए।
निर्वस्त्र महिलाको चित्र अंकित सिललाई ‘मदर गडेस’को उपमा दिइयो।यही सभ्यताको अर्को एउटा सिल छ, जसमा दुईवटा लामो लामो सिङ भएको एउटा मानिस ध्यानमा बसेको छ।उसको वरिपरि बाघ, गैंडा, साँढेजस्ता जनावर छन्। दक्षिण एसियाको प्राचीन धर्मबारे अध्ययन गर्ने कतिपय इतिहासकारको मत छ- शिवजीको सबैभन्दा पुरानो प्रतिमा यही हो।यो सिलमा बसेका ध्यानीलाई नाम दिइएको छ‘प्रोटो-शिव’।
अर्थात, परापूर्वकालका शिव।कतिपयले पशुपति नाम दिएका छन्।वरिपरि जनावर भएकैले यस्तो नाम दिइएको हुनुपर्छ।हुनसक्छ, आज शिवजीको छेउमा बस्ने साँढे सिन्धु घाटीको त्यही साँढे हो जसलाई पछि नन्दी नाम दिइयो।पशुपति र प्रोटो-शिव इतिहासकारहरूले दिएको नाम हो।सिन्धु घाटी सभ्यताका बासिन्दाले सिलमा अंकित चित्रलाई कुनै नाम दिएका थिए ? यसको जवाफ भेटिइसकेको छैन।
सिलमा शिवको यो चित्र बनाइको त्यो समय हिन्दू धर्मको सुरुआत हुनुभन्दा पहिलेको समय हो।हिन्दू धर्मको सुरुआत कहिलेदेखि भयो भनेर तोक्न सकिने समयको कुनै बिन्दु छैन।ऋग्वेद हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो।त्यसैले, ऋग्वेदको रचना सुरु भएको कालखण्डलाई हिन्दू धर्मको सुरुआत मान्न सकिन्छ।तर, त्यो समयसम्म आइपुग्न हिन्दू धर्मले लामो यात्रा भने तय गरेको थियो। आर्य समुदायको त्यो यात्रा मध्य एसियाको उरल संस्कृतिबाट सुरु हुन्छ।
रुद्रबाट शिव
उपनिषद्मा पहिलोपटक शिवबारे चर्चा गरिएको छ।श्वेताश्वतर उपनिषद्मा रुद्रलाई शक्तिशाली देवताका रूपमा चित्रित गरिएको छ।उनलाई योग, ध्यान आदिका देवताका रूपमा चर्चा गरिएको छ।यो क्रमलाई कथालाई शैव उपनिषद्ले थप अघि बढायो।र, शिवलाई सर्वशक्तिमान ईश्वर बनायो।सिन्धु घाटीमा ध्यानस्थ पशुपतिको प्रतिमा भेटिनु र दुई हजार वर्षपछि फेरि शिवलाई ध्यानका देवताको रूपमा उल्लेख गरिनु संयोग मात्रै हो त ? कि आदिवासी भारतीयहरूले सिन्धु घाटी सभ्यता नरहे पनि प्रोटो शिवसँग सम्बन्धित संस्कृति र कथा जोगाएर राखेका थिए ? यो कथा र संस्कृति वैदिक संस्कृतिसँग मिसियो र उपनिषद्मा लेखियो ? वैदिक संस्कृतिको विस्तार तथा आदिवासी संस्कृतिसँगको घुलमिलको समय र उपनिषद्को रचना काल हेर्दा यो असम्भव देखिँदैन।
शैवहरू वैदिकले झैं यज्ञ गर्दैनथे।शिवको आराधना गर्थे।त्यसैले पूजाका लागि उनीहरूलाई खास प्रतिमा आवश्यक पर्यो।सिन्धु घाटीको सभ्यताबाट आएको पशुपतिको प्रतिमा शिवका लागि उपयुक्त भयो, जो रुद्रको नाममा गंगा मैदान आइपुगेको थियो।शैवहरूले परिकल्पना गरेको सर्वशक्तिशाली ईश्वर र वैदिक देवता रुद्रबीच प्रशस्त समानता पाएपछि शैवहरूले रुद्रलाई शिवको स्वरूपका रूपमा स्वीकार गरे।
यसले शैव सम्प्रदायलाई वैदिक धर्मसँग जोड्ने काम गर्यो।त्यसैले शैव हिन्दू धर्म अन्तर्गतको एक सम्प्रदाय बन्यो।बुद्ध वा जैनझैं अलग धर्मका रूपमा विकास भएन।वैष्णव, शैव लगायतका धेरै सम्प्रदाय हिन्दू धर्मको छातामा आइपुगे।
शैव धर्म र संस्कृतिको उद्गम क्षेत्र कैलाश मानसरोवर
शैव धर्म र संस्कृतिको प्राक् ऐतिहासिक उद्गम क्षेत्र कैलाश मानसरोवर हो । यो रुद्रगण हरूका पूर्वजहरूको उद्गम र विचरण क्षेत्र हो । कैलाश भन्दा माथिको पामीर क्षेत्र देव मूलका इन्द्र आदिको मूलभूमि थियो । कैलाश सहित तिब्बत-त्रिविष्टपको भूमि ज्यादै चिसो र कम उर्वर भएकाले किराँतका नायक‘पशुपतिहरू’क्रमशः नेपाल तिर सर्दै आए।उनीहरूले सर्वोच्च हिमाली श्रृंखलाका दक्षिणतिर हरिया जंगल,उर्वर भूमि र पानीको सुविधा भएका ठाउँहरूमा बस्ती बसाउन थाले ।
उनीहरूको जीविका शिकार र पशुपालन थियो । किराँतका नायकहरू तन्त्र र युग का साधक थिए । उनीहरू संगीतप्रिय थिए र नाचगान गरेर रमाउँथे । भाला, त्रिशूल, बञ्चरा जस्ता हतियार चलाउने किराँतहरू निकै लडाकु स्वभावका थिए । तिनै किराँतहरूका अनेक गणहरूको बीचबाट परस्पर सहयोग गर्ने सामूहिक संस्कृतिको विकास भएको थियो । तिनीहरू मध्येका सबभन्दा ज्ञानी र सबैलाई भलाईको नेतृत्व गर्ने व्यक्ति सन्त शिवको रुपमा चर्चित हुँदै आए ।
शैव संस्कृति फैलिँदै फैलिँदै हिमाली र पर्वतीय क्षेत्रमा व्यापक हुँदै गयो । उनी हरूका शस्त्रास्त्रको माग बढ्दै गयो । तिनको नाट्य र संगीत लोकपि्रय हुँदै गयो । तन्त्र शास्त्रले ख्याती पाउँदै गयो । हिमाल र पहाडको जाडोलाई जित्दै दीर्घजीवी हुने योगशास्त्रको विकास गरे किराँत नायक शिवले । हिमाली क्षेत्रमा मूल्यवान औषधिहरूको खोज र प्रयोग बढ्दै गयो । खनिज धातुहरूको पनि क्रमशः खोज र प्रयोग हुन थाल्यो ।
त्यसरूपमा शैव संस्कृति बढ्दै गएपछि सुर, असुर, भूत, यक्ष, रक्ष, नाग आदि जातिपनि त्यसबाट प्रभावित हुँदै गए। शिव सबको कल्याण गर्ने “शंकर” को रुपमा प्रसिद्ध भए ।उनलाई यक्षेश्वर, किराँतेश्वर,नागेन्द्र आदि सम्मान मिल्न थाले । असुर र रक्ष जातिका विरोधी सुर या देवजातिले पनि संकटको बेला शिवलाई गुहार्नुपर्ने स्थिति आयो । त्यसैले उनी देवहरूमा पनि महादेवमा प्रसिद्ध हुँदै गए । यस रुपमा नेपाल भूमि शैव धर्मको उद्गम भूमि बन्न पुग्यो ।पौराणिक र बौद्धिक धर्महरूले जुन सत्य, त्रेता, द्वापर र कलि चार युगको वर्णन गरेका छन् । ती चार युगका देवी र देवताहरूमा शैलपुत्री पार्वती आदिमाताको रुपमा प्रसिद्ध छन् भने शिव या महादेव सत्य युगका देवताका रुपमा विख्यात छन् ।
छालाका वस्त्र, गुफाको बास, विभूति (खरानी) लेपनको न्यानो, पानी खाने पात्र- गौरी गाईका सिंङ्, उपचारको लागि तन्त्रमन्त्र, हतियार- त्रिशूल र धनु, बाजा- डमरु, बाहन- साँढेगोरु, हिमाली क्षेत्र निवासी र पहाडी क्षेत्रका गुफा, गुहृयेश्वरी, शिवलिंग को पूजा आदि आदि लक्षण भएका शिव र पार्वतीलाई आदिम युग या सत्य युगका देवता भनिएको छ ।
शिव परिवारमा गणेश र कुमार (कार्तिकेय) पनि छन् । गणेशको शिर हात्तीको जस्तो प्रतीकात्मक छ । कुमारको बाहन मयूर छ । शिवको घाँटीमा विषधर गोमन सर्प छ । यी तीनवटै नेपालको तराई भू-भागमा पाइन्छन् ।
शिवका मन्दिरहरू नेपाल र भारतमा यत्रतत्र भेटिन्छन्। तर शिव हिमालबासी भनिएका र शिवको प्राचीन मुख्य धाम भक्तपुरको डोलेश्वर र काठमाडौंको पशुपति क्षेत्र भएको कुरामा कसैले विवाद गरेको देखिन्न । यी सबै सन्दर्भबाट शैव धर्मको प्रमुख केन्द्र नेपाल भएकोमा शंका गर्नुपर्ने ठाउँ छैन ।आयुर्वेदको प्रसिद्ध ग्रन्थ “चरक संहिता” अनुसार प्राचीन युगका अंगिरा, जमदग्नि, वशिष्ठ, काश्यप, भृगु, आत्रेय आदि सयौं ऋषिहरूले आयुर्वेदको विकास निम्ति हिमालय क्षेत्रमा ठूलो सम्मेलन गरी वन औषधीहरूको अनुसन्धान गरेका थिए ।
यौगिक दृष्टिकोणमा त्यो बेला (लगभग ६०–६५ हजार वर्ष पहिले) शिव (मान सरोवर) आएको र सम्पूर्ण जगतमा मानव चेतना र सभ्यता प्रवर्द्धन गरेको बुझाइ छ।धर्मशास्त्रअनुसार शिव सधैँ गणहरूको वरिपरि हुने गर्थे अर्थात् गणहरू नै शिवका परम मित्र थिए तथापि शिवका अनुयायीहरू थिए, श्रीमती थिइन्, प्रशंसकहरू थिए। गणहरू (नन्दी, भृंंगी, वीरभद्र, चन्देश्वर आदि), जसलाई पुराणमा विकृत प्राणीका रूपमा व्याख्या गरिएको छ।
उनीहरूको अंगहरूमा हाड हुँदैनथ्यो र ती अंग शरीरका अनेक भागबाट उत्पत्ति हुन्थ्यो। के यी गण त्यतिबेलाका मानव जाति वा मानवमा विकसित हुने क्रमका जीव थिए?अझ, शिवलाई विशाल कद भएको, ऊर्जाशील, ध्यानापरणीय आदि व्यक्तित्वले व्याख्या गरिएको छ। शिव लगभग ९ फिट अग्लो रहेको जिकिर गरिएको छ। शिव गणहरूको वृत्तमा हुने र शल्य ज्ञानको प्रयोग भएको कुराको पुष्टि, उनका पुत्र गणेशको शिर काटिएपश्चात् उनले आफ्नै साथीमध्येको गणको शिर काटेर गणेशको टाउको जोडेको घटनाले गर्छ।
त्यसैले गणेशलाई ‘गणपति’ भनियो तर मानिसले त्यो हात्तीको टाउको भएको सम्झिएका छन्। त्यो हात्तीको टाउको र सुँड नभई गणको टाउको र अंग हो जुन हाडरहित थियो। यदि हात्तीको टाउको हुन्थ्यो भने उनलाई ‘गजपति’ भनिन्थ्यो होला किनकि गजको अर्थ हात्ती हो। तर, उनी गजपति हैन, गणपति हुन्। पछि शिवले गणेशलाई गणहरूको अगुवा बनाएको विश्वास छ। तसर्थ उनी गणपति भए, मतलव गणहरूको अगुवा।
पार्वती-प्रणय
शिवका सबैभन्दा रोचक प्रेमकथा पार्वतीसँगका छन्।पुराणहरूले पार्वतीलाई तिनै दुर्गाको स्वरूप वा दुर्गालाई पार्वतीको स्वरूप मानेका छन्।शिव पार्वतीका रसरंगमय प्रणय कथाहरू पुराणमा मात्र होइन, अन्य काव्यसाहित्यमा पनि उत्तिकै पाइन्छ।कालिदासको कुमारसम्भव यसको उत्कृष्ट नमुना हो।चौथो शताब्दीका कवि कालिदासले पार्वतीको रूप, शिवप्रति उनको प्रेमभाव, उनीहरूबीचको प्रणय प्रसंग र कार्तिकेय कुमारको जन्मलाई बढो रसिलो गरी प्रस्तुत गरेका छन्।प्रेम, प्रणय र युवतीको सुन्दरतालाई एउटा कविले कतिसम्म रोमान्टिक बनाउन सक्छ, कुमारसम्भव उदाहरण हो।
खासमा कुमार कार्तिकेय दक्षिण भारतीय देवता हुन्।ईशापूर्व दोस्रो शताब्दीदेखि केही सय वर्षसम्म दक्षिण भारतमा क्रमशः हिन्दू धर्म फैलिएको थियो।अहिले पनि दक्षिण भारतमा कार्तिकेय महत्वपूर्ण देवता हुन्।उनका अलग्गै मन्दिरहरू छन्।यिनै कुमार कार्तिकेय शिव परिवारमा समावेश भए।र, शिव पार्वतीका सन्तान बन्न पुगे।यसरी ईशाको तेस्रोचौथो शताब्दीतिर आइपुग्दा शिवको विवाह सम्पन्न भएर दुई सन्तानका पितासमेत भए।पुराणमा शिव, पार्वती, कार्तिकेय कुमार र गणेशसहितको शिवको सानो र सुखी परिवार बन्यो।
शिव-सन्देश
यसरी करिब चार हजार वर्षभन्दा लामो इतिहासबाट शिवको आजको स्वरूप बनेको छ।प्रोटो शिवबाट सुरु भएको शिवको जीवनकथा अहिले समरसिंहसम्म आइपुगेको छ।अनेक देवताका र कथाको संगमबाट आजका शिव बनेका हुन्। शिवको जीवनकथाले हाम्रो समाजमा कोही कसैको संस्कृति श्रेष्ठ र कसैको नीच छैन भन्ने बुझाउँछ।कुनै संस्कृति शुद्ध वा अशुद्ध छैन, हामीले हाम्रा संस्कृति एक अर्कासँग हाम्रा ज्ञान, कथा, पीडा, पसिना साटेर निर्माण गरेका हौं।कुनै रगत आज शुद्ध वा अशुद्ध छैन, हामी सबै एकअर्कासँग मिसिएर बनेका हौं।शिवको जीवन कथाको सन्देश हो, सामाजिक सहअस्तित्व र आदिवासी संस्कृतिको सम्मान गर, महत्व देऊ।
हाम्रो पूर्वीय सभ्यतामा मात्र हैन, पश्चिमा सभ्यता वा अरु सबै सभ्यतामा पनि अवतारवाद हाबी भएको देखिन्छ। जस्तै, श्रीराम, श्रीकृष्ण, बुद्ध, हनुमान, यशु, मोहम्मद आदि। अनुमान गर्दा, यो अवतारवादको अन्तर्य आ–आफ्नो सम्प्रदाय खडा गरेर कसको धर्म ठूलो भन्ने प्रतिस्पर्धाबाहेक अरु केही हैन। स्पष्टसाथ भन्नुपर्दा, हाम्रो वैदिक – सनातन धर्मले मूलतः शैव संस्कृति र शक्ति संस्कृति र पौराणिक कालमा वैष्णव संस्कृति अनुसरण गरेको पाइन्छ। वैदिक – सनातन धर्मभित्रका यी प्रमुख ३ संस्कृतिका केही फरक विशेषता छन्।
शैव संस्कृति
शैव संस्कृति भन्नाले शिवको पूजा गर्ने, अनुसरण गर्ने भन्ने बुझिन्छ। र, यो अरुभन्दा सनातन, विशिष्ट अनि सर्वोच्च रहेको बुझ्न सकिन्छ। यसभित्र पनि विभिन्न ४ सम्प्रदाय विद्यमान छन्। पाशुपत, कालामुख, कापलिक र लिंगायत। इतिहासमा शैव संस्कृति संसारभर अनुसरण भएका तथ्यहरू भेटिन्छन्। शिवलिंग अर्थात् शिवको प्रतीक संसारका विभिन्न देश वा स्थानबाट उत्खनन भएका छन्।
भ्याटिकन सिटी, मेसोपोटामिया, मक्का– मदिना, रुस, कम्बोडिया, थाइल्यान्ड आदि ठाउँ यसका उदाहरण हुन्। यस तथ्यलाई आधार मान्ने हो भने के शिव वा शैव संस्कृति संसारका प्राचीन पेगान सभ्यता, स्लाव सभ्यता, माया सभ्यता, इनका सभ्यता आदिमा पनि अनुसरण गरिएको थियो ? किनकि यी सबै सभ्यतामा समानता छ जसमा बहुलवाद अनुसरण गरिएको छ जसमा प्रकृतिको पूजा गरिन्थ्यो।
शैव संस्कृतिअन्तर्गतको सामाजिक प्रणाली साम्यवादी थियो, स्त्री – पुरुषलाई समान दर्जा थियो अर्थात् शैव संस्कृति भनेकै पुरुष र प्रकृतिको सम रूप थियो। उदाहरणका लागि, हामीले देखेका हरेक आकृतिमा शिव र पार्वतीलाई समान हैसियतमा चित्रण गरिएको छ। उनीहरू समान स्थानमा बसेका हुन्छन् जसको अर्थ भेदभावरहित समतामूलक अवस्था दर्शाउनु हो। शिवलाई अर्ध नारेश्वर पनि भनिन्छ जसको अर्थ आधा नारी र आधा पुरुषको विम्ब हो।
हाम्रा हरेक सभ्यताजस्तै किराँत, बोन आदिमा पनि शिवलाई प्रमुख शक्ति वा देवताका रूपमा स्थान दिइएको छ। सारांशमा शैव संस्कृति प्राचीन–वैदिक कालदेखि अनुसरण हुदै आएको र यो समतामूलक, भेदभाव रहित, सुसंस्कृत एवं समृद्ध रहेको पुष्टि हुन्छ।
देवी–देवताहरूको पनि आउने जाने क्रम भएको
शिवको कोही पनि जैविक सन्तान छैनन्। उनलाई हरेक पुराण, वेद वा कथाहरूमा जहिले पनि वयस्क वा एकै उमेरमा चित्रण गरिएको छ। यसको मतलव के शिव कुनै एक निश्चित समयका लागि आएर फर्किए वा के शिव भनेको कुनै छुट्टै विशिष्ट मानव जाति वा जीव प्रकार हो?जसको विभिन्न कालखण्डमा आउने क्रम जारी छ?
शिव मात्र हैन, हामीले मानेका अरु देवी–देवताहरूको पनि आउने जाने क्रम भएको बुझ्न सकिन्छ। उदाहरणका लागि, त्रेता युगमा पनि जब हनुमानले लंकामा आगो लगाएर सखाप हुन्छ,त्यसबखत पनि रावणले विश्वकर्मालाई बोलाएर (अर्कै लोकबाट) केही दिनमै लंकाको पुनर्निर्माण गराएका थिए। जो त्यस कालका अत्यन्त प्रखर अभियन्ता (इञ्जिनियर) जसको कला– कौशल, सीप र ज्ञान पृथ्वीमा बस्ने प्राणीको भन्दा अधिक र परम भएको हुन सक्छ।
अब एउटा प्रश्न आउन सक्छ, यदि हाम्रा सबै देवी–देवता बाहिरी दुनियाँबाट आएका हुन् अथवा बाहिरी दुनियाँमा स्थित छन् भने अहिलेको युगमा किन देखा परेनन्? किनकि अरु युग सत्य युग, त्रेता युग अनि द्वापर युगमा यी परम ज्ञानीहरूको देवी –देवतासँग संवाद भएको, भेट भएको आदि घटना वर्णन गरिएका छन्।सायद कुनै कालखण्डमा उनीहरूसँग हुने संवादको मार्ग टुट्यो कि? नष्ट भयो कि? तत्पश्चात वर्तमान मानव चेतनाले त्यो टुटेको मार्ग जोड्न सकेको छैन वा प्रयासरत छ।
वैदिक दर्शनमा शिवलाई शक्तिसँग समायोजन गरियो
शिवको प्रतीक शिवलिंग जसले यस ब्रह्माण्डको सम्पूर्ण शक्ति (ऊर्जा) को प्रतिनिधित्व गरेको छ। शिवसँग सम्बन्धित कुनै पनि उत्पत्ति वा भौतिक आवरणको वर्णन छैन। शिवलिंगलाई वर्णन गर्दा तल्लो भाग ब्रह्मा, मध्य भाग विष्णु र माथिल्लो भाग शिव भनेर व्याख्या गरिन्छ। शिवलिंगको दीर्घवृत्ताकारको अर्थ ब्रह्माण्ड जसको न कुनै सुरुवात छ न कुनै अन्त्य।
यस अलावा, ब्रह्माण्डमा रहेका सबै भौतिक पदार्थ परमाणुबाट बनेका हुन्छन् जसमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन समावेश हुन्छ जुन शक्ति (ऊर्जा) को प्रारूप हुन्।प्राचीनकालमा प्रोटोन, न्युट्रन र इलेक्ट्रन थिएन तसर्थ परम ज्ञानीहरूले लिंगम, विष्णु र ब्रह्मा शब्द प्रयोग गरेर परमाणुको व्याख्या गरेका छन्।
त्यसैले, प्रकृतिको सबैभन्दा सानो रूपलाई दर्शाउन, प्राचीन ऋषिले शिवलिंगको प्रयोग गरेको बुझ्न सकिन्छ।शिवलिंग त्यही परमाणु संरचनाको वर्णन गर्न प्रयोग भएको हुन सक्छ। परमाणु संरचनामा प्रोटोन र न्युट्रनलाई इलेक्ट्रनले (प्राणु र नाभीकणलाई नाभिकबाह्ले) घेरेको हुन्छ। धन आवेश अर्थात् सकारात्मक विद्युतीय गुण (चार्ज) भएको विष्णु अर्थात् प्रोटोन,उदासीन अर्थात् विद्युतीय गुण (चार्ज) विहीन शिव अर्थात् न्युट्रन र ऋण आवेश अर्थात् नकारात्मक विद्युतीय गुण (चार्ज) भएको ब्रह्मा अर्थात् इलेक्ट्रन। यी तिनै तत्वको समिश्रणले शक्ति (ऊर्जा) निर्माण हुन्छ।
शिवका अनुयायीहरूले अपनाउने योग सिद्धान्तले भन्छ“स्वतः प्रस्फुरित हुने, अर्थात् प्रतिभामूलक, चेतको जागरणबाट सवै विषय जान्न सकिन्छ।” अर्थात्, सोचको कुनै चरणमा तथ्यलाई झ्याप्पै देख्न सकिन्छ। बौद्ध मार्गमा पनि ज्ञानलाई भन्दा ध्यानलाई महत्ता दिने चिन्तन प्रभावी छ। यसले विना आश्रय स्वतः प्रस्फुटित हुने ध्यानको अवस्थालाई वोधिचित्त भन्छ र बोधिसत्त्वले बोधिचित्तबाट सम्पूर्ण धर्मलाई देख्छ भनेर मानेको हुन्छ। यस्तै हुन्छ प्राविधिक र संयोजनकारी दुनियाँमा रमाउने मानिसहरूको आधारभूत मान्यता पनि।
उनीहरूका लागि केके कुरालाई कसरी जोड्यो भने एउटा उपयोगी यन्त्र वा पद्धति वा प्रणाली बनाउन सकिन्छ भनेर जान्नु त्यहाँ भित्र रहेका सवै सिद्धान्त र सत्यलाई जाने बराबर हो। यन्त्रको संयोजनबाट मोबाइल फोन बन्छ र कुरा गर्न सकिन्छ भने किन विद्युत्-चुम्बकीय क्षेत्रको सिद्धान्त जान्नु पर्यो ? त्यो हो उनीहरूको मान्यता। प्रणाली, प्रविधि र नवप्रवर्तनको बाटोमा हिँड्ने व्यावसायिक, विशेषज्ञ र प्राविधिकहरू र त्यस्तो काम गर्ने संस्थाहरूका लागि यो उत्तम मार्ग हो।
यदि, हामीले विष्णुको आकृति हेर्यौँ भने त्यहाँ ब्रह्मालाई विष्णुको नाभीकमल मानिएको छ र ब्रह्मालाई कमलको फूलमा विराजमान भएको देख्छौँ जसको अर्थ इलेकट्रन (ब्रह्मा) को प्रोटोन ( विष्णु) प्रति आकर्षित हुने र घेर्ने प्रकृति उजागर हुन्छ। किनकि यी दुईको विपरीत विद्युतीय गुण (चार्ज) हुन्छ। त्यस्तै न्युट्रन (शिव)लाई केन्द्रीय परमाणु मानिएको छ। तसर्थ शास्त्रअनुसार शिवलाई भंग वा अलग गरेन भने शान्त रहन्छ। शिव शान्त रहँदा शक्ति (ऊर्जा) ले रेणुकाको रूप धारण गर्छ।
रेणुका अर्थात् परमाणु संयोजन गर्ने क्षमता जसले रेणु उत्पादन गर्छ। रेणु अर्थात् अणु । दुई परमाणुबाट अणुको उत्पत्ति हुन्छ। तसर्थ वैदिक दर्शनमा शिवलाई शक्ति सँग समायोजन गरिएको छ। त्यसैले शक्तिलाई शिवको अर्धांगिनी, जीवनको हिस्साको रूपमा चित्रण गरिएको छ। र, सधैँ शिवको साथमा राखिएको छ। जब– जब शक्तिलाई शिव (नाभीकण)बाट अलग गरिन्छ तब महाविपत्ति घटित हुन्छ जसको अर्थ शक्ति आतंकमा बदली हुनु हो। यसलाई वैदिक दर्शनमा महाकाली, रुद्रायणीको रूपमा चित्रित गरिएको छ।
हाम्रो वैदिक सभ्यतामा यसको व्याख्या शिव – शक्तिको अवधारणाले गर्छ। त्यस्तै, अरु सभ्यतामा अरु कुनै नाम हुन सक्छ। जस्तैः ताओ सभ्यतामा यिन – यांगले दर्शाउने गरेको छ।यसका विभिन्न भाषिक बोध छन्, नारी र पुरुष, नकारात्मक र सकारात्मक आदि। यी सबै हामीमा र हाम्रो वरिपरि हुने ऊर्जाको वर्णन हो। जस्तैः सूर्यमण्डल पनि त्यही परमाणु संरचनाको विराट रूप हुन सक्छ जसमा सूर्य नाभीकण अनि ग्रह र चन्द्रमाहरू प्राणु र नाभीकबाह् नहोलान् भन्न सकिन्न।
अन्त्यमा धर्म यानी नीतिनियम जसले जीवनलाई सहजता र सरालतपूर्वक जिउन सिकाउँछ ,जसले व्यक्ति जोड्छ र समाजलाई एकबद्ध बनाउँछ, नराम्रो बानी व्यहोरालाई परित्याग गरी राम्रो आचरणको अनुसरण गर्न सिकाउँछ । समाजमा एउटा भाइचाराको सम्बन्ध कायम गर्द छ त्यो हो धर्म, तर धर्मको नाममा दमन शोषण, अनन्य अत्याचार विभेद गर्नु आपराधिक गतिविधि हुन् । त्यसैले जुनसुकै धर्ममा पनि कुरीति, कुसंस्कार, रूढिवादी अन्धविश्वास र कुप्रथा छ त्यसलाई हामीले परिवर्तन या परिमार्जन गर्नुपर्छ ।
विज्ञान, प्रविधि, सुशासन र आर्थिक विकास एउटा गतिशील समाजको विकासका चारवटा अत्यावश्यक स्तम्भ हुन् । यी चारवटै क्षेत्रको सन्तुलित उन्नयन नगर्ने समाजको विकास दिगो हुँदैन। यी मध्ये कुनै एकको अभावमा समाजको विकासमा गतिरोध उत्पन्न हुन जान्छ।
त्यसैले, व्यक्ति-विशेषले आफ्नो जीवनको लक्ष्य मुताबिक यी मध्ये कुनै एक मार्गलाई अपनाएर उसको जीवन सफल बनाउन सके पनि एउटा समग्र समाजको सफलता त्यस्तो हुन सक्दैन। समाज सफल र समृद्ध हुन यी सवै विधाको सन्तुलित विकास हुनु पर्छ। एउटा व्यक्तिको मुक्ति अत्यन्त व्यक्तिगत र उसको आफ्नो चेतना, ज्ञान, अवस्था र लक्ष्य सापेक्ष हुन्छ। त्यसैले एउटा व्यक्तिको मुक्ति अर्कालाई बन्धन जस्तो लाग्न पनि सक्छ।
तर एउटा समाजले सवै विविधता, विचित्रता र विरोधाभासलाई आत्मसात् गरेको हुनु पर्छ। त्यसैले, त्रिमूर्ति दर्शन एउटा आधुनिक समाजले अपनाउनु पर्ने दर्शन हो जसले एउटा निरन्तर उन्नत समाजको दार्शनिक आधारशिला प्रदान गर्दछ।

