भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।
उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए । उनले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताए ।
उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताए । उनले चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने बताए । उनले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए ।
मन्त्री ज्वालाले चालक, सहचालकहरूको बोलीका कारण पनि कतिपय यात्रुहरूले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

