भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनतामा मालपोत कार्यालयहरु छवि राम्रो नभएकोले सुधार गर्नुपर्नेमा जोड दिएकी छन्।
मालपोत कार्यालयको छवि मन्त्रालय र सरकारको छविसँग पनि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्न आवश्यक भएकोमा उनको जोड थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्।
उनले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न विभागलाई निर्देशनसमेत दिइन्।
मालपोतलगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महसुस गर्ने र देखिने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
‘विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सदैव तयार छ’, मन्त्री श्रेष्ठले भनिन्, ‘देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरी काम गर्नुहोस्।’
छोटो समयमा कर्मचारीको सरुवा हुनाले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै मन्त्री श्रेष्ठले कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजानुपर्ने र त्यसको सुरुवात गर्न विभागको ध्यानाकर्षण गरिन्।