आज सम्पन्न एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस् चितवनको आयोजनामा भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ मा कीर्तिमानी संख्यामा विद्यार्थीहरुको सहभागिता भएको छ ।
भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा भएको फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको उक्त मेलामा चितवनसंगै नवलपुरका विद्यार्थीहरुको समेत उत्साहजनक सहभागिता रहेको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार विहानदेखि दिउँसोसम्ममा २ हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाबाट आउनु भएका एक्सपर्टका प्रतिनिधि र बैंकका प्रतिनिधिसंग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । जसका कारण ती देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा, चुनौति, अवसर र विदेश जाँदा लाग्ने खर्चको बारेमा जानकारी पाएका थिए ।
विगतका वर्षहरुदेखि नै एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्दै आइरहेको छ । ती कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएको र विदेशमा आफ्नो अध्ययनको अभिलाषा पुरा गर्न सफल भएको एक्सपर्टको भनाई छ । विगत दुई वर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सम्भव नभएपछि भर्चुअल माध्यमबाट यस प्रकारका कार्यक्रमहरु हुँदै आइरहेको थियो ।
यस्तै सोही कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारस खड्कासंग समेत विद्यार्थीहरुले सम्वाद गर्ने अवसर पाएका थिए । विद्यार्थीहरुलाई क्रिकेटर खड्काले सकरात्मक उर्जा भरेका थिए । विद्यार्थीहरुले अटोग्राफ लिएर खड्कासंग खुशीयाली साटेका थिए । कार्यक्रममा सहभागि सबै विद्यार्थीहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।