प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ देखि २० गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भ्रमणको जानकारी औपचारिक रुपमा सार्वजनिक गरेको हो । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा जान लागेका देउवाको साथमा पत्नी आर्जु राण, परराष्ट्रमन्त्री नारायण खड्का तथा नेपाल सरकारका उच्च अधिकारीहरु सहभागी हुने बताइएको छ । १८ गते भारत जान लागेका प्रधानमन्त्री देउवाले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैदिन भारतीय प्रधनमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले पनि भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा स्वदेश फर्कनुअघि बनारसको भ्रमणमा जाने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवाले दिल्लीमा व्यापारिक समुदायले आयोजना गरेको कार्यक्रममा दुईपक्षीय व्यपारका विषयमा पनि संबोधन गर्ने बताइएको छ । यस्तै प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति एम बेकैया नायडुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।