भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने बटमलाइन राखेर काठमाडौँ गएका चितवनका नेताहरु फर्केका छन् । सत्तारुढ गठबन्धनबीच भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा चलेपछि चितवनका कांग्रेसका नेताहरु डेलिगेसनको लागि काठमाडौँ गएका थिए ।
उनीहरु भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने स्पष्ट अडान राखेर फर्केका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेपाली कांग्रेसको चितवनको बैठकले भरतपुर महानगरमा मेयर पदको उमेदवारी कांग्रेसकै हुुनुपर्ने जुन अडान लियो, त्यो अडान नै केन्द्रीय नेतासमक्ष राखेर जिल्ला फर्केको बताए । उनले भने, ‘करिब १० जना नेतालाई हामीले हाम्रो मागपत्र बुझायौँ, भरतपुरमा कांग्रेसबाट उमेदवार हुनुपर्छ भन्ने दावी जनायौँ |
उनका अनुसार नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेता डा शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, प्रवक्ता प्रकाशशरण महत, उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्कालगायतलाई चितवनको मात्रपत्रसहितको स्पष्ट अडान राखेर फर्किएका हौँ । उनले भरतपुर महानरपालिका मेयर काँग्रेसले पाउनुपर्छ भन्दै शीर्ष नेताहरुलाई दबाब दिएको बताए ।
नेपाली कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले प्रधानमन्त्री देउवादेखि शीर्ष नेताहरुलाई भेटेर फर्किदा भरतपुर महानगरको मेयर नेपाली कांग्रेसबाटै हुने विश्वास जागेको बताए । उनले भने, ‘सबै शीर्ष नेताहरु यस विषयमा गम्भीर भएको पाइयो, हामीले हाम्रो अडान राख्यौँ । उहाँहरुले चितवनको भावना बुझेको बताउनुभयो ।’
जोशीका अनुसार शीर्ष नेताहरुलाई भेटेर फर्किदा भरतपुर महानगरको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुन्छ भन्ने आशा पलाएको छ । नेता जोशीले भने, ‘भेटघाटमा शीर्ष नेताहरुले चितवनको भावना हामीले बुझेका छौँ, गठबन्धन दलसँग भरतपुर महानगरको मेयरको उम्मेदवार बनाउन प्रयत्नशील रहन्छौँ भन्नुभयो, पूरा विश्वास बोकेर हामी फर्कियौँ ।’
चितवनका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा नेताहरु जितनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, उत्तम जोशीलगायत आधा दर्जन नेताहरुले दुई दिनसम्म काठमाडौँ नै रहेर शीर्ष नेताहरुलाई भेटघाट गरेका थिए । नेता जोशीले भने, ‘हामीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा कांग्रेसबाटै मेयरको उमेदवार बनाउन गठबन्धनमा कुरा राख्छु भन्नुभयो, त्यसैले पनि हामीमा कांग्रेसबाट भरतपुरको मेयरको उम्मेदवार हुन्छ भन्ने विश्वास जागेको छ ।’ भरतपुर महानगरपालिका काँग्रेसलाई पार्ने गरी छलफल अघि बढाउने आग्रह गरेको उनी बताउँछन् ।
‘देशभरमा झापापछि कांग्रेस सदस्यता बढी भएको ठाउँ भरतपुर हो, सुशील कोइरालालाई जिताएको ठाउँ हो’ कांग्रेसका एक नेताले भने, ‘यस्तो कांग्रेसको बाहुल्यता भएको ठाउँमा सबैभन्दा ठूलो पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्छ, नत्र विद्रोह पनि हुनसक्छ ।’ गठबन्धनमा भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा पनि छ । यदी यस्तो भएमा नेपाली कांग्रेसका केही नेताहरु बागी उठ्नेसम्मको चेतावनीसमेत दिएका छन् । कांग्रेसका जिल्ला नेताहरुले यसअघि २०७४ सालको गठबन्धनमा मेयर पदमा नेकपा माओवादी केन्द्रलाई सघाएपछि अहिले यसपटक भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन् ।