नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले गठबन्धन गर्ने भनेपछि भरतपुर महानगर प्रमुखमा नेपाली कांग्रेसबाट नै उम्मेदवार हुनुपर्छ भन्दै डेलिगेशनमा गएका नेपाली कांग्रेस चितवन जिल्लाका प्रतिनिधिहरु, केन्द्रिय सदस्य, पुर्व सांसदहरु र अन्य पदाधिकारीहरु प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई भेट्न पार्टी कार्यालय सानेपा र बालुवाटार पुगेका थिए। त्यो संगसंगै भरतपुर महानगर प्रमुखमा नेपाली कांग्रेसबाट २५ जनाले आफ्नो उम्मेद्वारी दावी गरिसकेका छन्। केन्द्रिय सदस्य देखि लिएर प्रदेश सांसद र भर्खरै सम्पन्न जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी सबैले आफ्नो उम्मेद्वारी दिँदा र भर्खरै मात्र प्रधानमन्त्री संग भेटघाट गरेर चितवन फर्किएका युवा नेता तथा जिल्ला सभापतिका प्रत्यासी उम्मेदवार कैलाश कोइरालाले उम्मेद्वारी नदिनु सर्वत्र चासोको विषय बनेको छ। यसै विषयमा चित्रवन खबरकर्मी सन्दिप लामिछानेले कोइरालालाई भेटेर केहि प्रश्नहरु सोधेका छन्।
प्रश्न : चुनावको सरगर्मी कत्तिको बढिराछ ? चुनावी अभियानमा कत्तिको व्यस्त हुनुहुन्छ ?
उत्तर : चुनावको सरगर्मी बढेकै छ, व्यस्तता यस्तै हो साथीभाई भेटघाट, टिकटको लागि चुनावी अभियान चलिरहेको छ।
प्रश्न : चितवनमा गठबन्धनको अवस्था के छ ? चितवन कांग्रेसले मेयर आँफुले पाए गठबन्धन गर्ने नत्र स्वतन्त्र उम्मेदवार भएपनि उठाउने भन्ने कुरा आएको छ, खास कुरा के हो ?
उत्तर : चितवन कांग्रेस भन्ने कहाँ हुन्छ र ?, कांग्रेस भनेको केन्द्रिय समिति हो त्यो अनुसारको जिल्ला समिति हुन्छ। चितवन कांग्रेस आफूले मेयर पाए लड्ने ? चितवन कांग्रेस भनेको केन्द्रिय समिति हो ? केन्द्रिय समितिको एउटा फंक्सनल तल शाखा हुन्छ, त्यो भनेको जिल्ला कार्यसमिति हो। यदि स्वतन्त्र निर्वाचन लडिन्छ भने त्यो निर्दलीय व्यवस्थामा मात्र सम्भव छ। तर यो दलिय व्यवस्थाको चुनाव हो । कोहि मान्छे व्यक्ति/झुण्ड समुहले समर्थन गर्ने वा भन्ने कुरा एउटा रह्यो, तर जिल्ला कार्यसमितिले भन्नुपर्यो नि त, यदि यो निर्णय हो भनेर। पार्टीले त्यसरी भनेको छ भन्ने त मलाई लाग्दैन।
प्रश्न : भनेपछि केन्द्रको कांग्रेसले जे भन्छ, जिल्ला कार्यसमितिले पनि त्यही अनुसार गर्नु पर्यो ?
उत्तर : गर्नुपर्छ, नगर्न पनि पाउला तर गर्नुपर्छ पर्दैन भन्ने कुरो त जिल्ला कार्यसमितिको सभापतिको दायित्व के हो ? आफ्नो काम कर्तव्य र अधिकार के हो भन्ने कुरो उहाँले बुझ्नु भएको होलानी ? त्यसकारण मैले गर्नुपर्छ भनेर भन्दिन, गर्ने नगर्ने उहाँले जान्नुभएको होला। नगर्दाको परिणाम के हो उहाँले जान्ने होला। त्यसकारण अतिरन्जित कुरा गरेर अति-फजुल कुरा गरेर पार्टी भित्रको एउटा अधिवेशनको मात्र कुरालाई लिएर ति कुराहरुमा जानु अतिरन्जित गरेजस्तो लाग्छ मलाई। राजनीतिमा जे देखिन्छ त्यो हुँदैन जे हुन्छ त्यो देखिँदैन मैले बारम्बार भन्दै आइरहेको छु।
प्रश्न : अब तपाईंलाई म महानगर तिर लैजान चाहान्छु, चितवनका केन्द्रिय सदस्य देखि जिल्ला सभापतिका प्रत्यासी सबैले मेयरमा दावेदारी दिँदा हजुरले किन दिनु भएन ?
उत्तर : चितवनका कांग्रेसीहरुले मेयरमा उम्मेद्वारी दिँदा निर्वाचन आयोगमा दिएजस्तो त लाग्दैन। मेयर दावा मैलेपनि पाउनुपर्छ भन्ने हो। दावा पनि के देखियो भने अलि अराजक जस्तो देखियो। नेतृत्वविहिन देखियो हैन भने नेतृत्वको पनि एउटा दायरा हुन्छ। यो मान्छेले उम्मेद्वारी दिँदा खेरि यो मान्छेले पाओस्, यो मान्छेले हाल्दा हामीले नपाउने भन्ने कुरा देखिनुपर्यो। दोस्रो कुरो म मात्र यस्तो मान्छे हुँ जसले मेयरको दावेदारी गरेको छैन। भोटकै प्याटर्नले हेर्दाखेरि म पनि जिल्ला सभापतिको उम्मेद्वार, अरु सबैले नेताको नाममा भोट ल्याउनु भयो मैले पनि विकास कोइरालाको नाममा मेहनत गरेर भोट तुलनात्मक रुपमा सम्मानजनक ल्याएको हुँ। अहिले हेर्दा यहाँ जो जो मेयरमा लड्नुभएको छ त्यहाँ नेतृत्वविहिन जस्तो देखियो। सबै तहका मान्छेले मेयरमा दावेदारी प्रस्तुत गर्नुभएको छ, जहाँ पनि एउटा नेता त हुन्छ नि त, एउटा पोजिसन त हुन्छ त। त्यसकारण यहाँ कोहि पनि सुरक्षित देखिनुभएन, एउटाले पाए अर्कोले म सिद्धिन्छु कि भनेर प्रतिस्पर्धामा कसैले कसैको नेतृत्व नस्विकारेको अवस्था मैले पाँए । त्यसकारणले गर्दा मैले किन उम्मेद्वारी नदिएको भन्ने जुन कुरा छ, समग्र राष्ट्रिय राजनीति हेर्दा खेरि यहाँ गठबन्धननै हुन्छ नै भन्ने मलाई लाग्थ्यो, गठबन्धन हुननै पर्यो किनभने सरकार बनेको परिपाटी हेर्दाखेरि गठबन्धन हुने र चितवनमा माओवादीले नै लिने भन्ने कुरा भाको हो। त्यसकारणले गर्दा यो विषयमा अतिरन्जित गर्ने भन्दा पनि अग्रपंगती नेताले बोलाएर चुनाव लड्ने भन्नुपर्ने ठाउँमा त्यसै मपाईं भनेर जे मा पनि दरखास्त हाल्ने ? मलाई लाग्छ चितवनका नेताहरु अमेरिकाको राष्ट्रपतिको दरखास्त खुल्यो भने पनि यहाँबाट हाल्न पाउने भए हालिहाल्नु हुन्छ। के मा हाल्नि हो के मा लड्नी हो भन्ने कुराको ज्ञान त हुन पर्यो नि। वडाध्यक्षमा पनि पार्टीमा पनि उम्मेद्वारी हाल्नलाई पछाडी नपर्ने विषयलाई अतिरन्जित गरि आफ्ना कार्यकर्ताहरुलाई आफ्नो ग्रिपमा राखेर अनि के भन्नि भने हाम्रो नियन्त्रणमा छैनन्, भोट हाल्दैन भन्ने। नेताले जनतालाई सम्झाउन सक्नुपर्यो, जनताले नेताको अपिललाई सुन्नु पर्यो। त्यसकारणले गर्दा म पपुलर छु रे, पपुलर कहाँबाट हुन्छ ? रुख चिन्ह पपुलर हो व्यक्ति पपुलर हो भने स्वतन्त्र उम्मेदारी दिई जित्दा हुन्छ । कोइ उम्मेद्वार पनि पपुलर हुनुहुन्न रुख चिन्ह पपुलर हो।
प्रश्न : केहि दिन अघि चितवन कांग्रेसका प्रतिनिधिहरु पनि पार्टीका शिर्ष नेता देखि सभापति सम्मलाई गठबन्धन मान्दैनौं भनेर डेलिगेशन जानुभाको थ्यो, तपाईं पनि एक्लै काठमान्डौ पुगेर सभापति एवं प्रधानमन्त्री देउवालाई भेट्नुभयो, खास के विषयमा कुराकानी भयो ?
उत्तर : पार्टी सभापति ज्युले सबैजना आउँछन्, कुरा गर्दा पहिला मलाई चाइयो भन्छन्, म नभए अर्कोलाई दिएपनि हुन्छ भन्छन्, समुहमा भने अर्को कुरा गर्छन। सबै चिटर हुन् चिट गर्छन्। यहाँ आउँदा एउटा कुरा गर्छन् तल गएर अर्को कुरा गर्छन् त्यसकारणले गर्दा झुट भन्दा कुरै गर्दैनन् भन्नुभयो। चितवनका नेताहरुले मेयर मात्र पाएपनि गठबन्धन गरौँ नभए नगरौं भन्नुभएछ। गठबन्धन त उपमेयर पाएपनि गठबन्धन हो नि, कि गठबन्धन नगर्नुस् भन्न जानुपर्यो कि राष्ट्रिय राजनीतिमा प्रभाव राख्नुपर्यो हैनभने यहाँ एउटा कुरा गर्ने माथि गएर झुट कुरा गरेर भएन। तपाईं जत्तिको प्रष्ट कुरा कसैले पनि गरेनन् भनेर सभापतिले भन्नुभयो।
प्रश्न : तपाईंको विचारमा यथार्थपरक ढंगले सोच्दाखेरि अब गठबन्धनको विषयमा चितवनका कांग्रेसले कसरि सोच्नुपर्नेछ ?
उत्तर : चितवन जिल्ला कार्यसमितिले आफ्नो काम कर्तव्य र अधिकार भित्र रहेर कुरा गर्नुपर्छ। जिल्ला कार्यसमितिले अतिरन्जित गरेर कुरा गर्नु हुँदैन जस्तो मलाई लाग्छ । जिल्ला कार्य समिति पनि केन्द्रकै नियन्त्रणमा हुनी त हो। ७७ जिल्लाकै कार्यसमितिको प्रमुख त हैन नि चितवन जिल्ला कार्यसमिति, त्यसकारणले आफ्नो काम नगर्ने अर्काको कुरामा रमाइलो गर्दै हिन्ने परिपाटीलाई त्याग्नुपर्यो। जिल्ला कार्यसमितिले गठबन्धनको विषयमा वास्तविक कुरा नबुझाई अतिरन्जित गरेको देखियो, यो चै गलत छ । गठबन्धन गरिन्न भने गरिन्न भन्न पर्यो, हामी मान्दैनौं स्वतन्त्र लडाउँछौ भन्न पर्यो हैन भने गठबन्धन गर्छु पनि भन्ने हस्ताक्षर पनि गर्ने, विज्ञप्ति पनि निकाल्ने तर मेयर पाए गठबन्धन गर्ने नभए नगर्ने भन्ने त्यो अधिकार उहाँहरुको हुँदैहैन नि। गठबन्धनले राष्ट्रिय राजनीतिमा आफ्नै किसिमको प्रभाव राखेको छ। त्यसकारण त्यहाँ एउटा कोर्स भएको छ, अब म यो कोर्स नै मान्दिन, पढ्दिन्, यो कोर्सको परिक्षानै दिन्न भनेर भन्न पाइन्छ ?, मेरो जुन कोर्स हो त्यही कोर्सको परिक्षापत्र निकाल भनेर हुन्छ र कोर्स नै फ़ेरिएपछि ?
प्रश्न : अन्तमा के भन्न चाहनुहुन्छ तपाईं ?
उत्तर : मेरो कुरा के हो भने सबै कुरा राम्रो भएर जाओस्, कांग्रेसको आफ्नो भावना, मर्म, विचार नमरोस्। कुनै आफ्नो स्वार्थका लागि अतिरन्जित तरिकाले आफू सुरक्षित भए सबैकुरा ठिक आँफू असुरक्षित भए बेठिक भनेर पार्टीभित्रका मान्छेहरुलाई तेजोजफत गर्नको लागि यी कुराहरुलाई नल्याइओस। कांग्रेसका सबैतहका मान्छेहरुलाई कुटनैतिक तरिकाले वास्तविकता यो हो भन्ने कुरा बुझाएर विषय वस्तुलाई सुरक्षित तवरले अवतरण गरिओस्, अहिलेको आवश्यकता के हो भन्ने कुराको महुसस गरेर चितवन जिल्ला कार्यसमिति अगाडी बढोस् भन्ने म चाहन्छु ।
(यो कुराकानीको आधारमा तयार पारिएको सामाग्री हो। )