कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन कुनै पनि दलको हितमा नभएको जिकिर गरेका छन्। तालमेलको विषयले कांग्रेसभित्र असन्तुष्टि बढेका बेला महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्ने गरी गठबन्धनको पक्षमा अभिव्यक्ति दिएका हुन्।
थापाले नेपालको दीर्घकालीन राजनीतिक संस्कृतिका लागि गठबन्धन हितकर नभएको उल्लेख गरे।
थापाले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छैन भन्ने मेरो आफ्नो मत हो। तर पार्टीको निर्णय मानेको छु। मान्नुपर्छ।’
नयाँ वर्षका अवसमार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले पार्टीले स्थानीय तहको चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँग गठबन्धन गर्ने सहमति गरे पनि महामन्त्री थापा निरन्तर त्यसको विपक्षमा उभिँदै आएका छन्।
थापाले स्थानीयस्तरमै दलहरुबीच कुरा मिले मात्रै तालमेल हुने दोहोर्याए। केन्द्रबाट गरिएको तालमेलले परिणाम नदिने उनको दाबी थियो। ‘तल दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप गर्न हुँदैन। स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ। माथिबाट थोपरेर हुँदैन, थापाले भने।
महामन्त्री थापाले कोसँग मिल्ने वा नमिल्ने भन्ने अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिए। ‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ। तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो। माथिबाट कसैले निर्णय गर्न मिल्दैन।’