काठमाडौँ, वैशाख १३: यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय पश्चात नेकपा एमाले माथि प्रश्न उठ्न थालेको छ ।
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए। आफूमाथि स्थापितले पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रश्मिलाले उनैलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय दुःखद भनेकी छन्।
‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरू कुनै नेता(कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ। यो खबर सुनेर मलाई निकै दुःख लाग्यो,’ उनले सोमबार सेतोपाटीसँग भनिन्, ‘यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिलाई त पार्टीले कारबाही पो गर्नुपर्थ्यो, मेयरको उम्मेदवार बनाएर पुरस्कार पो दियो। यो एमालेले महिलामाथि गरेको अपमान हो।’
रश्मिलाले चार वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। स्थापितले राखेको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको घटना उनले लेखेकी थिइन्।
यौन दुर्व्यवहारको आरोप लाग्दा स्थापित प्रदेश ३को सरकारमा भौतिक योजना मन्त्री थिए। यो आरोपको केही समयपछि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेपछि उनलाई बर्खास्त गरिएको थियो।