चितवन, वैशाख १३-
नेपाली कांग्रेसका चितवनका नेता तथा कार्यकर्ताले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटमा लाखौं रुपैयाँको चलखेल भएको आरोप लगाएका छन् ।
नारायणगढस्थित नेपाली कांग्रेस कार्यालयको सभाहलमा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का नेता लक्ष्मण गुरूङले सो आरोप लगाएका हुन् । उनले क्षेत्र नम्बर २ का वडामा टिकट वितरणमा पैसाको चलखेल भएका प्रमाण प्राप्त भएको बताए ।
उनले भने, ‘पैसा, नाता, सम्बन्धका आधारमा चोरबाटोबाट वडाध्यक्षका उम्मेदवार छनोट गरियो,’ गुरूङले भने, ‘प्रक्रिया नपु¥याई गरिएको छनोटलाई हामी स्वीकार गर्न सक्दैनौं । त्यस्ता वडाध्यक्षलाई जिताउन झन्डा बोक्न सकिँदैन ।’ उनले क्षेत्र नम्बर २ मा गठबन्धनबाट कांग्रेसको भागमा परेका वडामा उम्मेदवार उठाउँदा विधान र प्रक्रियाको उल्लंघन गरिएको आरोप लगाए।
‘क्षेत्रीय समितिले विधानविपरीत काम गर्यो भनेर जिल्ला समितिमा जानकारी गराउँदा पनि बेवास्ता गरियो,’ उनले भने, ‘जिल्ला समितिले पनि क्षेत्रीय सभापतिले गरेको एकलौटी निर्णयलाई नै सहयोग ग¥यो। यसबाट पार्टीका निष्ठावान् एवम् इमान्दार कार्यकर्ताले अपमान भएको महसुस गरेका छौं।’ कालिका नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षका दाबेदार धर्मदत्त गौतमले उम्मेदवार बन्न पार्टीको क्षेत्रीय नेतृत्वले पाँच लाख रुपैयाँ मागेको दाबी गरे।
‘म ५५ वर्ष भइसकें, बुझेदेखि नेपाली कांग्रेसमा सक्रिय छु । म मेरो वडाको वडाध्यक्षको सशक्त दाबेदार हुँ। तर उम्मेदवार बनाउन मसँग पाँच लाख रुपैयाँ मागियो,’ उनले भने, ‘मैले त्यो पैसा बुझाउन सक्दिनँ, मसँग यस्तो कुरो गर्दै नगर्नु भनें।’ उनले यो अवस्थामा नेपाली कांग्रेसले कहिल्यै प्रतिस्पर्धीसँग जुध्न नसक्ने बताए।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का सदस्य मछिन्द्र पाण्डेले वडाध्यक्षको टिकटका लागि २५ लाख रुपैयाँसम्म मागिएको दाबी गरे । ‘पैसा दिन सक्दिनँ भनेपछि मलाई उम्मेदवार बनाइएन। मैले स्वतन्त्र उम्मेदवारी दिएको छु,’ पाण्डेले भने । उनले क्षेत्रीय समितिमा भएको मान्छेलाई समेत कुनै जानकारी नदिई टिकट वितरण गरिएको बताए ।
‘यो अवस्थामा गठबन्धनबाट भए पनि एकल प्रतिस्पर्धाबाट भए पनि नेपाली कांग्रेसले चुनाव जित्न सक्दैन,’ उनले भने, ‘नेताहरूले चुनावलाई पैसा कमाउने अवसरका रूपमा प्रयोग गरे। पार्टीलाई बर्बाद पारे।’ उनले पैसाका लागि बदनाम व्यक्तिलाई उम्मेदवार बनाइएको दाबी गरे।
भरतपुर–७ का सभापति विनोद ढकालले आफ्नो वडाबाट वडाध्यक्षको उम्मेदवार को बन्यो भन्ने आधिकारिक जानकारी अझै नपाएको बताए। ‘पार्टीको विधानअनुरूप उम्मेदवार नाम हामीले सिफारिस ग¥यौं तर तीमध्ये को छनोट भयो भनेर जानकारी वडा सभापतिले पाउनुपर्ने हो, पाउन सकिएन,’ उनले भने, ‘मनलाग्दी उम्मेदवार छनोट गरेर वडा सभापतिहरुको अपमान गरियो।’ ढकालले होटलमा रक्सी खाएर, होहल्ला गरेर पैसाको चलखेल गर्दै उम्मेदवार तय गरिएको आरोप लगाए। ‘मैले पनि पहिले गठबन्धनको, शीर्ष नेताको विरोध गरें तर पार्टीले निर्णय गरिसकेपछि त्यसलाई मान्न तयार भएँ,’ उनले भने, ‘तैपनि हामीमाथि अपमान गरियो। वडा सभापतिलाई अपमान गरेर पार्टीलाई कसरी जिताउन सकिन्छ मैले बुझेको छैन।’
कांग्रेसको चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’का सचिव कृष्णविलास अधिकारीले पार्टीको विधि, विधानविपरीत नभएका निर्णयलाई मान्न बाध्य नहुने बताए । ‘पार्टी अधिवेशनमा गरेको खर्च अहिल्यै उठाउने हो भनेर चोरबाटोबाट टिकट बाँडिदैछ,’ उनले भने, ‘यसरी छनोट भएका उम्मेदवारलाई चुनाव जिताउने भनेर कसरी हिँड्ने?’ उनले भरतपुरमा गठबन्धन गरिँदैन, रूखमामात्रै भोट हाल्न पाउनुपर्छ भनेर चुनाव जित्नेले गठबन्धनविरूद्ध आवाज निकाले कारबाही गर्छु भनेको र तिनैले टिकट बेच्दै हिँडेको आरोप लगाए ।
कांग्रेसकी क्षेत्रीय सह–सचिव सिर्जना देवकोटाले उम्मेदवार छनोटमा नातावाद, कृपावाद हावी भएको बताइन् । पार्टीका इमान्दार कार्यकर्ताविरूद्ध उजुरी दिएर फसाउने, उसकाविरूद्ध आफ्ना मान्छेलाई स्वतन्त्र उम्मेदवार उठाउने काम पार्टीकै नेताहरूले गरिरहेको बताइन् । भरतपुर महानगरपालिकामा गठबन्धनले वडाध्यक्ष भागबन्डा गरेको छ। नेपाली कांग्रेसको भागमा २९ मध्ये २० वडा परेका छन्।