भरतपुर, १४ वैशाख : जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचन सामाग्री आइपुगेको जनाएको छ । मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामाग्री सोमबार राती आइपुगेको हो । २ ट्रक सामाग्रीलाई कार्यालय परिसरमा मिलाएर राखिएको छ । स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबार लगायतका ५८ प्रकारका निर्वाचन सामाग्रहरु आइपुगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका स्टेशनरी लगायतका सामानहरु जिल्लाबाटै व्यवस्थापन गरिसकेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले २६ गते सबै मतदान केन्द्रहरुमा सामाग्रीहरु पठाइने बताउनुभयो । आवश्यक परिमाणको प्याकेजिङ मिलाएर मतदान अधिकृतको नेतृत्वमा सामाग्रीहरु पठाइने बताउनुभयो । निर्वाचनका लागि यसपाली ४ सय वटा नयाँ मतपेटिका ल्याइएको नायब सुम्बा लक्ष्मी ढकालले बताउनुभयो । निर्वाचन कार्यालयमा करिब १ हजार १ सय थान पुरानै मतपेटिकाहरु मौज्दात रहेका छन् । चितवनमा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्रहरु रहेका छन् । चितवनमा ३ लाख ९७ हजार ६ सय ८५ जना मतदाता रहेका छन् ।