२०७९ बैशाख १४
स्थानीय चुनाब नजिकिँदै गर्दा चितवनको सर्गर्मी निकै तातेको छ । मेयरमा माओवादीलाई छोडेपछिको असन्तोष र विरोध त छँदै थियो । विद्रोह वडा तहसम्म आइपुगेको छ ।
खबरअनुसार भरतपुर- २० नम्बर वार्डका काङ्ग्रेस सभापति सत्यमोहन अधिकारीले राजिनामा दिएको समाचार छ । स्रोतका अनुसार साधरण सदस्यसमेत नरहने गरी राजिनामा दिएका अधिकारी पार्टी कार्यलयसमेत आउन छोडेपछि निर्वाचनको प्रचार-प्रसारको काम प्रभावित हुने चिन्ता काङ्ग्रेसजनमा परेको छ ।
साविक गुन्जनगर- ९ का वडा अध्यक्षसमेत रहेका सत्यमोहन अधिकारी साविक चित्रवन ४ का समेत पार्टी सभापति थिए । पश्चिम चितवनका निकै पुरानामध्येका काङ्ग्रेस नेताबाट आएको राजिनामाले क्षेत्रीय मात्र होइन जिल्ला तहसमेत तरङ्गित बनेको छ ।
चितवन-३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी हुन् । काङ्ग्रेसको विधानले क्षेत्रीय सभापतिलाई वडा तहको टिकट वितरणको जिम्मेवारी दिएसँगै काङ्ग्रेसको सङ्गठनभित्र क्षेत्रीय सभापतिको शक्ति चुलिएको विश्वास गरिन्छ ।
क्षेत्रीय समितिको निर्णय प्रकृयाप्रति आफ्नो असहमति जनाउँदै भरतपुर- २० का पुराना काङ्ग्रेस नेता एकनारायण पौडेलले विद्रोह गरी स्वतन्त्र रुपमा वडा अध्यक्षमा उमेद्वारीसमेत दिएर आफ्नो प्रचार-प्रसार आरम्भ गरेका छन् । पौडेलको उमेद्वारीपछि चियापसलहरूमा काङ्ग्रेसको गढ भनेर चिनिएको २० नम्बरको सम्भावित मत परिणामको अङ्क गणित सुरु भ्एको देखिन्छ ।
पौडेलको उमेद्वारी फिर्ता गराउन पार्टीभित्रबाट आवश्यक पहल भइरहेको कुरा जिल्लास्तरका काङ्ग्रेस अगुवाले बताए । यसबारे सोध्न पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।