भरतपुर । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन चाहेमा आज शुक्रबार फिर्ता लिन सक्नेछन् । चितवन कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेलको उमेदवारी फिर्ता गराउन कांग्रेसका शिर्ष नेताले दबाब बढाएका छन् ।
पौडेलको समूहलाई मनाउनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएका छन् । तर, खाँणले बिहीबारको भेटवार्तामा पौडेल र उनको समूहका नेताहरुलाई मनाउन असफल रहे । पौडेललाई फकाउन राज्यमन्त्री उमेश श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताहरु पौडेल निवासमा पुगेका थिए । असन्तुष्ट समूहसँग खाँणले बिहीबार राति पनि पुनः भेट गरेका थिए ।
केही दिनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुसुक्क चितवन आएर कांग्रेसका नेताहरुलाई भेटेका थिए । बागी उमेदवारलाई मनाउन भनेर प्रचण्ड काठमाडौँ फर्किएका थिए । तर, जिल्ला तहका नेताहरुले मनाउन नसकेपछि प्रचण्डकै जोडबलमा देउवाले खाँणलाई बुधबार चितवन पठाएका हुन् ।
भेटवार्ताका क्रममा परिस्थिति धेरै अगाडि बढिसकेकाले उमेदवारी फिर्ता नहुने कुरा गृहमन्त्री खाँणलाई बताएको मेयरका उमेदवार पौडेलले बताए । पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर–७ स्थित पौडेल निवास पुगेका थिए । आफूले दिएको उमेदवारी चितवनवासी, लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै पौडेलले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।
‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ, मैले एउटा सामान्य नागरिकका हिसाबले उमेदवारी दिएँ । तपाईंहरुले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उमेदवारी दिएछ भनेर बुझ्नुस् भनेर भनेँ ।’
पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागेर कारबाही गरे पनि आफूलाई आपत्ति नरहेको उनले बताए । विभिन्न जिम्मेवारी दिनका लागि गृहमन्त्रीले प्रस्ताव गरेको सङ्केत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन् । आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए । पहिलो भेटमा पौडेलले उमेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किएका हुन् ।
भेटवार्तापछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री खाँणले पौडेल पार्टीको प्रतिबद्ध कार्यकर्ता भएकाले पार्टीको निर्णय कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास रहेको बताए । पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेललाई भेटेका थिए ।
सापकोटा र खरेलले पनि उमेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन् । गठबन्धनबाट भरतपुरको मेयरको उमेदवारमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उमेदवारी दिएका हुन् । पौडेलले दिएको उमेदवारी लहडको उमेदवारी नभएकाले उमेदवारी फिर्ता नहुने पौडेलकी समर्थक खरेलले बताइन्