चितवन, जेठ १२:बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले भरतपुर महानगरमा चल्ने साना सार्वजनिक सवारी दर्ताको लागि स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।
मन्त्रालयले भरतपुर महानगरपालिका रुट लिइ चल्न चाहने चार र तीन पाङग्रे साना सार्वजनिक सवारी साधनको दर्ता सम्बन्धित स्थानीय तहको सिफारिसमा मात्र गर्नको लागि यातायात सेवा कार्यालय चितवन र मकवानपुरलाइ आदेश दिएको हो । अब भरतपुर महानगरपालिकाको सिफारिस बिना कुनै पनि नयाँ सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।
जेठ ३ गतेको वाग्मती प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार भरतपुर महानगरपालिकाबाट साना चारपाङग्रे म्याजिक भ्यान तथा तीन पाङग्रे अटो रिक्सा सार्वजनिक साधनहरुको चापको कारण सवारीलाई व्यवस्थित गर्न सो निर्णय गरिएको हो । आफूहरुले धेरै समयअगाडिदेखि पटकपटक अनुरोध गरे अनुसार निर्णय भएको त्रिदेव यातायात प्रालिका अध्यक्ष वीरेन्द्र लामिछानेले जानकारी दिए । यस निर्णयबाट नयाँ सवारी जथाभावी सञ्चालन गर्ने कार्यमा नियन्त्रण हुने र बजारमा ट्राफिक जाम कम हुने व्यवसायीको आशा छ ।