चितवन जिल्ला अदालतले बालिकामाथि बलात्कारको अभियोगमा एक युवकलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले भरतपुर महानगपालिका १० का २९ वर्षीय शिव काफ्लेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । उनीविरुद्ध नाबालिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो।
होस्टेल सञ्चालक समेत रहेका काफ्लेले आफूमाथि बलात्कार गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो।
गत वर्ष पुसको अन्तिमतिर सौराहाको र फागुनमा शिवघाटको रिसोर्टमा लागेर जबरजस्ती करणी जाहेरीमा उल्लेख छ । युवकले पनि रिसोर्टको कोठामा बसेको बयान दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बालिकाले ती युवकले आफूलाई विभिन्न प्रलोभन र धम्की देखाएर पटक–पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्।