चितवन : चितवनको सौराहामा विभिन्न कार्याक्रम गरी विश्व वातावरण दिवस मनाईएको छ । “पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवनयापन” भन्ने मुल नाराका साथ रेबान महिला समूह, सौराहा लेडिज जेसिस र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त आयोजनामा आज आईतबार चितवन राष्ट्रिय निकुञ्ज राप्ती नदि किनारमा सरसफाइ र बाघमारा वनमा वृक्षारोपण गरी मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथी चितवन राष्ट्रिय निकुञ्ज, सौराहा सेक्टर प्रमुख विश्व बाबू श्रेष्ठले विश्वमा मानवीय गतिविधिले नै विश्वको वातावरण बिग्रदै गएकोले हामी सबैले आआफ्नो क्षेत्रबाट गर्न सक्ने ससाना संरक्षणका गतिविधिले पनि वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
यस्तै विशिष्ट अतिथी रत्ननगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष किरण महतोले वातावरण संरक्षणमा नगरपालिका सबैसंग हातेमालो गर्दै सौराहाको पर्यटनलाई वातावरण मैत्री बनाउन नगरपालिका लागि पर्ने बताउनु भयो ।
बाघमारा वनका अध्यक्ष जितु तमाङ्गले विश्वमा बढ्दै गएको तापक्रमले पृथ्वीमा रहेको सबै प्राणीको अस्तित्व सङ्कटमा रहेकोले सबैले वातावरणलाई पर्न सक्ने असरका क्रियाकलापहरुलाई नियन्त्रण गर्दै जानू पर्ने बताउनुभयो ।
कार्यक्रममा निकुञ्ज र वनका कर्मचारी, नेपाली सेना, रेबान महिला समूहका सदस्यहरु, सौराहा लेडिज जेसिसका सदस्यहरु, चराविद, नेचर गाइडहरुको संलग्नतामा राप्ती नदि किनारबाट २५ बोरा प्लास्टिक र सिसाजन्य वस्तुहरु सङ्कलन गरिएको थियो । बाघमारा वनमा करिब १०० वटा बिरुवा रोपिएको वनका अध्यक्ष तमाङ्गले जानकारी गराउनु भयो । सरसफाइ कार्यक्रम रेबान महिला समुहकी अध्यक्ष लक्ष्मी बिडारी र वृक्षारोपण कार्यक्रम सौराहा लेडिज जेसिसकी अध्यक्ष सपना भण्डारीको अध्यक्षता भएको थियो।