२०७९ जेठ २८ शनिबार : बिजुलीको प्रसारण लाइनको पोलमा मानिस चढेपछि माथिल्लो त्रिशूली थ्री ए को उत्पादन तीन घन्टादेखि बन्द गरिएको छ। नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशूली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रसारण लाइनको पोल रहेको ककनी गाउँपालिका–७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशूली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले जानकारी दिए।
मिश्रका अनुसार बिहान ११:३० बजेबाट उत्पादन बन्द गरिएको हो। ‘६० मेगावाटको फुलफेजमा उत्पादन भइरहेको थियो। अहिले तीन घन्टादेखि बन्द गरेका छौँ,’ उनले भने, ‘पोलमा चढेको मानिस नउत्रेसम्म बन्द नै हुन्छ।’ पोलमा चढेका ती व्यक्ति बेलकोटगढी नगरपालिका–१३ का ४४ वर्षीय माइला विक रहेका छन् ।
उनी बिजुलीको तारसम्म नै पुगेकाले उनलाई ओराल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। ‘तलबाट बोलाउँदा ओर्लिएको छैन। अब प्राविधिकहरू आफैँ माथि चढेर ओराल्ने प्रयास भइरहेको छ,’ खड्काले भने ।