मेघौली । पछिल्लो समयमा पश्चिम चितवनमा बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थानवरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् ।
सामुदायिक वनमै पुगेर बाघले आक्रमण गर्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको बताउँछन्, राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अर्जुन भण्डारी ।
निकुञ्ज र सम्बन्धित निकायले आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको बताउँछन्, मालिका सामुदायिक वनका मेघौलीका अध्यक्ष मोतीप्रसाद भुसाल । उनी भन्छन्, ‘यसरी मानवबस्तीमै पुगेर वन्यजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकारमा उत्रिँदा निकुञ्जले कानुन लगाउँछ, पक्रिन्छ । प्रतिकार नगरौँ, आफ्नै ज्यान जोखिममा छ ।’
वन्यजन्तुले धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन् । नेपालको कानुनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख उपलब्ध गराउने गरेको छ ।
निकुञ्ज मुख्यालयबाट प्राप्त विवरणअनुसार बाघ आक्रमणमा परेर ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ । आक्रमणका घटना अधिकांश मध्यवर्ती सामुदायिक वनमा भएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार तीनवटा घटनामात्रै निकुञ्जभित्र भएका हुन् । वर्षभरमा भएका सबै घटना निकुञ्ज र मध्यवर्ती वन क्षेत्रभित्रमात्रै भएका हुन् । वर्षदिन नहुँदै यति धेरैले ज्यान गुमाएको घटना यसअघि नभएको उनी बताउँछन् ।
यसअघि जेठ २४ गते मंगलबार निकुञ्ज मुख्यालय कसराआडको घैलाघारी मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्न गएकी भरतपुर–२३, जगतपुरकी मंगली बोटेको पनि बाघ आक्रमणमा परेर ज्यान गएको थियो । ९ दिन नहुँदै निगुरो नै टिप्न गएकी भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्वम्यादी प्रहरी रेखा बस्नेत लाई पनि बाघले नै ज्यान लिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य यो वर्ष घाँस काट्न, सालको पात टिप्न र निगुरो टिप्न जंगल जाँदा आक्रमणका घटना भएको बताउँछन् । बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । संख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उनले बताए ।
एउटा बाघलाई हिँडडुल गर्न लगभग ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ, तर बाघको संख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानवबस्तीवरपरसम्म पुग्ने गरेको विज्ञहरुले बताएका छन् । मान्छेलाई आक्रमण गरेको अवस्थालाई हेर्दा निकुञ्ज सुरक्षामा खटिँदा, घाँसदाउरा गर्न जाँदा, निगुरो टिप्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कंदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा मृत्यु भएको देखिन्छ । बाघ बस्तीमा आएर स्थानीयलाई आक्रमण गर्ने घटना बिरलै हुने गरेको अधिकारीहरु बताउँछन् ।
सामुदायिक वनहरुमा समूहमा प्रवेश गर्ने, हात्ती वा हेरालुको आवश्यकताअनुसार सहयोग लिने गर्न सकेमा घटना कम हुने उनले बताए । चोरीको नियतसाथ सुटुक्क वन पस्नेहरु बढी जोखिममा रहेको उनको भनाइ छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको संख्या ९३ रहेको छ । त्यतिबेला देशभरको संख्या २३५ रहेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासको वन क्षेत्र पाटे बाघको मुख्य बासस्थल हो ।