चितवन,असार १०-
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरीका परिवारका सदस्यहरुलाई २५ प्रतिशत छुट हुने भएको छ । अस्पताल र नेपाल प्रहरी श्रीमती संघबीच आज यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा.दयाराम लम्साल र संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले हस्ताक्षर गर्नुभयो । सो अवसरमा प्रहरी बरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको उपस्थिति थियो ।
सम्झौता अनुसार नेपाल प्रहरी र पूर्व प्रहरी सहित उनीहरुका परिवार र अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरुमा २५ प्रतिशत छुट सुविधा पाउने छन् । यस्तै फार्मेसीले ७ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ । उक्त सेवा लिनका लागि संघले उपलब्ध गराएको परिचयपत्र आवश्यक पर्ने सम्झौतामा जनाईएको छ ।
सम्झौता अनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू नहुने जनाईएको छ । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताउनुभयो । उहाँका अनुसार ओपिडी र इमरेर्जेन्सी टिकटमा पनि यो सम्झौता लागू हुने छैन । टिकट लिईसकेपछि भने यो सम्झौता लागू हुने देवकोटाले जानकारी दिनुभयो ।
संघका अध्यक्ष सिंहका अनुसार संघले कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्दा अस्पतालले चिकित्सक सहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताउनुभयो । उहाँले यो सम्झौताले नेपाल प्रहरी, पूर्व प्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने बताउनुभयो । उहाँले अस्पताल परिवारलाई धन्यवाद समेत दिनुभयो । उहाँले संघले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको जानकारी दिनुभयो ।
यो सम्झौता आउँदो साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नविकरण गर्न सकिने जनाईएको छ ।