काठमाडौँ : मगन ईन्टरटेनमेन्टको निर्माण र रजिन महर्जनको छायांकन तथा निर्देशनमा नेपाल भाषाको गीत “व मनु सू मनु ?” अर्थात “त्यो मान्छे को हो?” बोलको म्युजिक भिडियो असार २० गते सोमवार कीर्तिपुर सिनेप्लेक्स्मा प्रिमियर शोको आयोजना गरेर सार्वजनिक गरिएको छ।
संगीतकार भुवन महर्जनको शब्द सङ्गीतमा तयार भएको उक्त गीतमा गायक राजेन्द्र डङ्गोलले स्वर दिएका छन् भने संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन् ।
कीर्तिपुरको इतिहासमा एक फरक विशेषता भएको पात्रको चरित्रलाई यस म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । करिब १५ बर्ष अगाडि कीर्तिपुरमा भारी बोक्ने कार्य गर्ने पात्रको कथा यस म्युजिक भिडियोमा समेटिएको छ ।
कीर्तिपुरबासीले ‘बिजय’ भनेर चिन्ने उक्त पात्रको सडक जीवनलाई भिडियोमा अभिव्यक्त गरिएको हो । प्रिमियर शोका प्रमुख अतिथि बरिष्ठ कलाकार मदन दास श्रेष्ठले निर्देशकको कलाकार चयन तथा सानो सानो पक्षलाई समेत महत्वका साथ छायांकन गरेको कुरालाई विशेष जोड दिए ।
नेपाली, हिन्दी, चाइनिज र अंग्रेजी भाषाको सबटाइटल सहित मगन इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको यस म्युजिक भिडियोमा देवेन्द्र महर्जन, बुद्धलक्ष्मी महर्जन, नरेन्द्र महर्जन, ज्ञानी शोभा महर्जन तथा धन बहादुर महर्जन लगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
यस म्युजिक भिडियोलाई कीर्तिपुरको बिभिन्न स्थानहरूमा छायांकन गरिएको छ । पवन प्याकुरेलको निर्माण नियन्त्रणमा बनेको यो भिडियोको कलर ग्रेडिङ सन्जिव रत्न शाक्यले गरेका हुन् भने सहायक निर्देशन बिक्रम महर्जनले र कला निर्देशन रेलिजा श्रेष्ठले गरेकी हुन् ।