चनौली । चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा चनौली वितरण केन्द्र रहेको क्षेत्रमा आर्थिक वर्ष २०७८/७९ मा विद्युत् चुहावट बढेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन हुँदा आव ०७७/०७८ मा करिब १४.५ प्रतिशतमा झरेको चुहावट यस आर्थिक वर्षको वैशाखसम्म२०.८ प्रतिशतमा पुगेको नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाले जनाएको छ ।
चनौली वितरण केन्द्रमा आर्थिक वर्ष २०७८/७९ को साउनमा ३५.९ प्रतिशत, भदौमा २४.६ प्रतिशत, असोजमा २४.७ प्रतिशत, कार्तिकमा १८.३ प्रतिशत, मंसिरमा १६.८ प्रतिशत, पुसमा १६.५ प्रतिशत, माघमा १६.३ प्रतिशत, फागुनमा १६.९ प्रतिशत, चैतमा १९.१ प्रतिशत, वैशाखमा १९.४ प्रतिशत चुहावट भएको छ । विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको चनौली वितरण केन्द्रमा चितवनमा सबैभन्दा बढी चुहावट भएको छ ।
प्रणालीमा रहेको विद्युत. चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुने नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल बताउँछन् । भरतपुर महानगरपालिकामा पश्चिमतर्फको शिवघाटदेखि देवनगर तथा माडी गरी ठूलो भूभागमा चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति गर्नुपर्ने भएकोले चुहावट बढी देखिएको उनको भनाइ छ । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको उनले बताए ।
हुकिङलगायतबाट हुने विद्युत् चोरी न्यून रहेको बताउँदै प्रमुख लम्सालले नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सवस्टेसनको सुदृढीकरण तथा नयाँ सवस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम गरिरहेको बताए ।
चुहावट नियन्त्रणका लागि सवस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने बताउँदै उनले प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको बताए ।