आज साउन पन्ध्र अर्थात् खिर खाने दिन। आजकाे दिनलाई कृषिपर्वका रूपमा पनि मनाइने गरिन्छ। सामान्यतय धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन रहिआएकाे छ।
दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले हाम्रो शरीरमा ऊर्जा पैदा गर्छ। यसबाट मानव स्वास्थ्यमा राम्रो हुने भएकाले खिर खाने परम्परा चलेको विश्वास गरिन्छ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताउँछन्।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेला गाई, भैँसीले पनि धेरै दूध दिन्छन्।
दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो। साउन भगवान् शिवको महिना पनि हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायतका मिठाइँ विधिपूर्वक चढाइन्छ।
यसैले साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए। यद्यपि यसको कुनै शास्त्रीय वर्णन भने छैन।
ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीहरूले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन्। चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ।