प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् ।
दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २३ सिटमा खुम्चिएको कांग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भए पनि दाहाल–नेपालले मुलुकबाट वामपन्थी शक्ति सिध्याउने गरी कांग्रेसलाई साथ दिएको जिकिरसमेत गरे।
अध्यक्ष ओलीले भने, ‘संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसिरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाँल्न थालेछन् एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरू बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरूले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ । २३ सिटमा पुर्याएको कांग्रेसले हामीतिर लड्ने त होइन, लडने कुरा छाडिदिउँ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुनु । कांग्रेसको बिँड हेर्नुस्त कस्ता छन ?’
ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि बताए । । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीको सिंगो पंक्तिलाई सचेत गराए ।
अध्यक्ष ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरूलाई देश बिगार्ने भडुवा भएको आरोप लगाउँदै सतर्क रहन पनि सबैलाई आग्रह गरे । विश्वका सबै मुलुकका पार्टी चाहिने तर नेपालमा चाहिँदैन भनेर स्वतन्त्र भनिएकाहरूले देश बिगार्न लागेको उनको जिकिर थियो । ओलीले पार्टीविना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरूले देश चलाउन नसक्ने तर्क समेत गरे।