प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ। प्रतिनिधि सभाको आइतवारको बैठकमा महाअभियोग प्रस्तावबारेमा छलफल भएको थियो। छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव गरेका थिए। सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ।
जबराविरुद्ध २०७८ फागुन २९ गते बैठकमा संविधानको धारा १०१ को उपधारा ९२० एवंम् प्रतिनिधि सभा नियमावली २७५ को नियम १६१ को उपनियम १ बमोजिम महाअभियोग दर्ता गरिएको थियो। त्यसबेला माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्तुत गरेको महाअभियोगको प्रस्तावलाई सत्तारुढ दलका सांसदहरुले समर्थन गरेका थिए। उक्त प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए। महाभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वतः निलम्बनमा गएका छन्। अहिले दीपक कार्की सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश छन्।