काठमाडौँ, साउन २४: सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ ।
सोही अनुरुप आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । सो कार्यतालिकालाई आइतबार नै आयोगले स्वीकृत गरि सकेको जनाएको छ । आगामी निर्वाचन मंसिर ४ गते हुँदै छ । आयोगले डेढ महिना अगावैदेखि काम सुरु गर्नेगरि तालिका बनाएको छ । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले सो तालिका भदौ २५ गते लेखी पठाउने तयारी भइरहेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।