नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा ४२ लाख पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन्। सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाम पुगेका हुन्।
सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेसन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन्।
ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मवालम्बीहरु दर्शनका लागि विशेष रूपमा शाश्वतधाम आउँछन्।
नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससँगै रहेको पार्क सबैका लागि मुख्य आर्कषण रहेको छ। मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ।
साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ।
साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ।’
नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औधोगिक ग्राम छ। त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसँगै जोडिएको ७ बिगाह क्षेत्रफलमा यो मन्दिर फैलिएको छ। यसकोे निर्माण अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो।
धाममा के छ ?
वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो। चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ। पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्।
हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो। धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरुले रोमाञ्चक अनुभूति गर्न सक्दछन्।
यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ। शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ। बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ।
आयआर्जन तथा रोजगारको अवसर
शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभई स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ। मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटल तथा रेस्टुरा सञ्चालनमा छन्। उनीहरूले धाममा आउने पर्यटकहरूलाई लक्षित गरी व्यापार गर्न पाएका छन्।
धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउछिन्।
‘चिया राम्रो बिक्री हुन्छ। धाममा युवादेखि वृद्धहरूसम्म आउने गर्छन्, चिया नै खोज्छन्’, सिर्जनाले बताइन्। सिर्जना मात्र होइन, उनीजस्ता धेरैले धाममा आउने पर्यटक लक्षित गरी राम्रो व्यवसाय गरेका छन्।