नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई आह्वान गरेको छ । विहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीले उक्त आह्वान गरेको हो । जिल्ला सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन सवै तहका नेता साथीहरुलाई स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन यसै विज्ञप्ति मार्फत हार्दिक आव्हान गर्दछ ।’
निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिबिधिले पक्कै पनि सहयोग नगर्ने भन्दै लोकतान्त्रिक पार्टीमा वाद–विवाद र विचार–विमर्श चलिनै रहने विज्ञप्तीमा भनिएको छ। बिज्ञप्तिमा अघि भनिएको छ–‘हामी चाहन्छौ, लोकतान्त्रिक विधि र पद्धती अनुरुप पार्टीका आन्तरिक फोरमहरुमा वैचारिक वहसको प्रारम्भ गरौं र असहमतिका वीचबाट पनि सहमतिको खोजी गरौं ।’
सभापति खनालले मुलधारको राजनीतिक क्रियाकलापलाई व्यवस्थित र परिपक्क बनाउदै सहमति र एकताको वाटो अवलम्वन गर्दै एउटै राष्ट्रिय संकल्प र दुरदृष्टीका साथ राजनीतिक र शासकीय स्थिरताका लागि प्रयत्न गर्न पनि आग्रह गरेका छन ।
सहजीकरणको जिम्मा ६ नेतालाई
यसैबीच पार्टीको विश्वस्त स्रोतबाट प्राप्त जानकारी अनुसार समस्या समाधानमा सहजीकरण गर्न ६ नेतालाई जिम्मेवारी दिइएको छ । जसअनुसार चितवन क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेषनाथ अधिकारी, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी र डा. तिर्थ खनियाँ, क्षेत्र नम्बर २ र ३ मा पूर्वसभापति एवं वर्तमान केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्व सभापति रामकृष्ण घिमिरे खटिनेछन् । छिटो भन्दा छिटो यो समूहले परिणाम प्राप्त गर्ने पार्टीको विश्वास छ ।
गत स्थानीय निर्वाचनदेखि नेपाली काँग्रेस चितवनमा असन्तुष्टिहरु बढ्दै गएका हुन् । यसबिचमा सयौँको संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।