पर्वत- पर्वतको कुश्मा नगरपालिका वठा नं. १२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल बाटुलेचौर देविस्थान मन्दिरमा भगवन शिवको मुर्तिको प्राणप्रतिस्ठा गरिएको छ ।
धार्मिक, पौराणिक एवम् पुरातात्तिक रुपमा प्रसिद्ध स्थल बाटुलेचाौरमा शिवजीको नयाँ मुर्तिको प्राणप्रतिष्ठा गरिएको हो । निकै आर्कषक र आधुनिक मुर्तिलाई बराल फिड पोखराका संचालक चन्द्रकान्त बरालले निःशुल्क उपल्ब्ध गराउनुभएको हो । मुर्ति राख्ने संरचना निर्माणका लागि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, स्थानीय वडा, समाजसेवी तथा विभिन्न धार्मिक व्यक्तिहरुले सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो ।
उक्त मन्दिरमा सदरमुकाम कुश्मा बजारदेखि करिव एक घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । यस मन्दिरमा ११० वर्षदेखि नियमित रुपमा पुजा हुदै आएको छ । यो मन्दिरमा चैत्राअष्टमी, तिज, बालाचर्तुदशी, शिवरात्री, र वडा दर्शको नवदुर्गा र साउने सोमबारमा विशेष पुजा हुने गर्दछ । त्यसैगरी शनित्रयोदशीमा १०८ पिपल घुमी जल चढाउनको लागि यहाँ विशेष व्यवस्था गरिएको छ ।
तेत्रायुगमा राजा भगवान दशरथले सिकार खेल्न जादाँ भान्जा श्रवणकुमारलाई अन्जानमा बाँण हानी मारेपछि यही स्थानमा अस्वमेद यज्ञ (सेतो घोडा काटेर होमन गर्ने कार्य) गरी १०८ गाई दान गरेर पाप मोचन गरेको किम्वंदन्ती छ । यज्ञ गरि होम लगाएको कुण्डमा टेकी तिजमा पुजा गरेमा रजस्वला हुदाँ महिलाले गरेका सबै पाप मोचन हुने विश्वास छ । तर अहिले भने यो कुण्ड संरक्षण विहिन भई अस्तित्व नै मेटिने अवस्थामा पुुगेको छ । श्रवणकुमार घाइते भई पानी खुवाउनको लागि दशरथले वाँण हानी निकालेको (वाणँ पानी कुवाको) पानी अहिलेसम्म पनि सुवेदी थरले प्रयोग गर्दैनन् ।
रामको अवतारको रुपमा पशुरामले समेत यस क्षेत्रमा तपस्या गरेकोले परशुरामधामको रुपमा समेत यो क्षेत्र परिचित छ । सुरुमा स्याङजा, बाग्लुङ, कास्की र पर्वतको व्यवसायीहरुको व्यापारिक केन्द्रको रुपमा रहेको यो स्थान २०४८ सालपछि सडक सञ्जालको विस्तारसंगै यसको महत्व घट्दै गएको छ । माघे संक्रान्तिपछि जैमिनुघाटमा पुग्ने व्यापारीहरु चैते दशैंसम्म यही बजार थाप्ने गर्थे । शिव मन्दिरको पश्चिम तर्फ मुख्य ढोका छ भने कालिका मन्दिरको पूर्व प्रवेश द्धार छ । २०१८ सालमा ६ महिनासम्म अखण्ड कोटीहोम गरी यस मन्दिर निर्माण गरिएको हो ।
२०३० को दशकमा परापूर्वकालदेखि रहिआएको पुरानो कालीको कालो र रातो जिब्रो भएको डरलाग्दो मुर्ति चोरी भएपछि बाहिरबाट नयाँ मुर्ति ल्याई स्थापन गरिएको छ । यस मन्दिर स्थानीय मौलिक शैलिमा निर्माण गरिएको छ । मन्दिरमा शिव, पार्वती, शालग्राम र कालीका भगवती अवतारलाई मुख्य रुपमा पुजा गरिन्छ । हाल कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाले यसको रेखदेख, संरक्षण, संम्बद्र्धन र पुजा सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो । मन्दिर ३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने आसपासको जग्गा, खेतबारी र पाखो गरि ८० रोपनी जमिन गुठीको नाममा संरक्षित छ । त्यही जग्गाको आम्दानीबाट नियमित पुजा हुने गरेको भएपनि अहिले जनशक्ति अभावका कारण धेरै जग्गा बाँझै छ । जसका कारण आम्दानी पनि घटेको छ ।
यस क्षेत्रमा पुराना र पौराणिक विषयहरुलाई उचित संरक्षणका लागि पाका पुस्ता चुकेको देखिन्छ । कुण्डको नजिकै मोटर बाटो खनि पुरानो यज्ञ लगाएको स्थान, पार्वतीले पानी खाने पुराने कुवाँ जस्ता स्थलहरु अहिले मात्र कथनमा सिमिति भएका छन् । जसका लागि अवका पुस्ताले यी स्थलहरुको संरक्षण गरी गरी थप प्रचारप्रसार विस्तार गर्नमा समेत ध्यान दिनु पर्ने समयमा आएको छ ।