फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले लागुऔषध सम्बन्धी परीक्षण गरेको बताएकी छन्। फिनिस पपस्टारसँग नाच्दै गरेको भिडियो फुटेज बाहिरिएपछि उनी विवादमा तानिएकी हुन्।
उनले लागुऔषध पनि लिएको हुन सक्ने भन्दै विपक्षी दलका नेताले परीक्षणको माग गरेका थिए। प्रधानमन्त्री मरिनले आफूले मादकपदार्थ सेवन गरे पनि लागुऔषध भने नलिएको बताउँदै आएकी छन्।
त्यही पुष्टि गर्नका लागि आफूले परीक्षण गराएको शुक्रबार पत्रकार सम्मेलन गरेर उनले जानकारी दिएकी हुन्।परीक्षणको नतिजा आउँदो हप्ता आउने अपेक्षा गरिएको छ।
पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि ३६ वर्षकी प्रधानमन्त्री मरिनले आलोचनाको सामना गरिरहेकी छन्।
‘मैले कुनै पनि गैरकानुनी काम गरेको छैन’, राजधानी हेलसिन्कीमा मरिनले भनकी हुन्।
‘मैले किशोरावस्थामा समेत कुनैपनि प्रकारको लागुऔषध लिएको थिइन’, व्यक्त भएका चासो र चिन्ता दूर गर्नका लागि आफूले परीक्षण गराएको बताउँदै उनले भनेकी छन्।