नेपालमा जुनसुकै विमानस्थलबाट आन्तरिक रूपमा उडेका हुन वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल बाहिर गएकाहरू किन नहुन्, नेपालका विमानस्थलमा अनुभूत गर्न नपाएकाे ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको छ।
विदेशतिरका कतिपय विमानस्थलमा ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ निर्माण गरिएको भए पनि नेपालमा हालसम्म बनेका कुनै पनि विमानस्थलमा यस्तो प्रविधिको प्रयोग भएको थिएन। करिब २२ अर्ब रुपैयाँको लागतमा बनेको विमानस्थलमा बनेको ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ नेपालको पहिलो भएकाले यसले विमानस्थललाई बढी रोचक र सुरक्षित बनाउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मी बताउँछन्।
विमानस्थलमा रहेको टर्मिनल भवनमा यात्रुको चेकजाँच सकिएपछि यात्रुहरू विमान चढ्न टर्मिनल भवनबाट बाहिरिन्छन्। देशका अन्य विमानस्थलमा टर्मिनलबाट विमानतर्फ जाँदा पैदल यात्रा गरेर वा साना गाडी लिएर पनि जाने गरिएको छ। तर पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा भने न त विमानमा जान हिँड्नुपर्छ न त सवारीमा नै चढ्नुपर्ने छ।
‘प्यासेन्जर बोर्डिङ ब्रिज’ टर्मिनल भवनबाट एयरपोर्टसम्म लामो हुन्छ। टर्मिनल भवनबाट विमानस्थलसम्म जानको लागि प्रयोग हुने सुरुङ मार्ग भनेर बुझ्दा पनि भयो यसलाई। यो सुरुङजस्तै छ। टर्मिनलबाट विमानस्थलसम्म रहेको यो ब्रिज जहाजको ढोकामा पुगेर जोडिन्छ’, उनले भने, ‘पानीको परेको बेला होस वा घाम लागेको त्यसले कुनै समस्या हुँदैन। ब्रिजको तल साना खालका टायर राखिएकोले यो मुभेवल छ।’
‘प्यासेन्जर बोर्डिङ ब्रिज’ को तल्लो भागमा टायर राखिएको छ भने यसलाई हाइड्रोलिक प्रणालीबाट सञ्चालन हुने गरी प्रबन्ध मिलाइएको छ। जसका कारण यात्रुको पर्खाइमा रहेको विमानको ढोका जहाँनेर पर्ने छ ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ तन्किएर त्यहीँ पुग्ने छ। जहाजमा आउजाउ गर्नेहरू जहाजको भर्याङबाट जमिन झर्न नपर्ने गरी सीधै टर्मिनल भवनमा आउने भएकाले जहाजमा चढ्न लागेका वा जहाजबाट झरेका यात्रुका कारण देखिने भीडभाड नियन्त्रणमा आउने र यसले विमानस्थललाई सुरक्षित पनि बनाउने मुनकर्मी बताउँछन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा गत साउन २२ मा बसेको प्राधिकरण सञ्चालक समितिको ४०४ औँ बैठकबाट यो निर्णय भएको हो।
करिब २२ अर्ब रुपैयाँ लागतमा चिनिया कम्पनीले निर्माण थालेको विमानस्थलको झण्डै ९८ प्रतिशत काम पूरा भइसकेको र निर्माणको बाँकी काम पनि छिट्टै सक्ने र असोजभित्रमा ‘क्यालिब्रेसन’ उडान गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ।
उडान आरम्भ गर्ने समय नजिकिँदै गर्दा पोखरा महानगरपालिकाको फोहोर फाल्ने गरिएको ‘ल्याण्ड फिल्ड साइट’ले प्रभाव पार्ने चिन्ता भने पोखरा महानगरवासीलाई छ। पोखरा महानगरपालिका–१४ बाछेबडुवामा विमानस्थलबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रहेको छ। २०६१ सालदेखि त्यहाँ फोहोर व्यवस्थापन हुँदै आएको छ।
विमानस्थलको काम सुरु भए यताबाट नै ल्याण्ड फिल्ड साइट सार्नुपर्ने कुरा उठ्दै आए पनि यही कामको निर्णय अझैसम्म पनि हुन सकेको छैन।
समाचार श्रोत : थाहा खबर