महोत्तरीमा चक्कु प्रहार गरी ७० वर्षीय शिव महराको हत्या भएको छ । महराको हत्यालगत्तै उनका ३० वर्षीय भतिज विजेन्द्र महरा फरार भएका छन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका शिव महराको अण्डकोषमा चक्कुले घोपेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताए । चक्कु प्रहार भएलगत्तै घटनास्थलमै शिवको मृत्यु भएको पोखरेलले बताए ।
पोखरेलले भतिज विजेन्द्रले नै शिवको हत्या गरेको खुलेको जानकारी दिए । विजेन्द्रले काका शिवसँग वृद्धभत्ताको रकम मागेका थिए । तर, पैसा नदिएपछि चक्कु घोपेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्यालगत्तै फरार भएका विजेन्द्रको खोजी कार्य तीव्र पारिएको पोखरेलले बताए ।

