संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचेभन्दा फरक रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ६२ औँ रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जहाँ छोयो त्यहीँ फाटेको बताए।
उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेकोजस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको उल्लेख गरे।
मन्त्री किराँतीले भने, ‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन। १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ।’
मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए। उनले आफू फेल भए युग र व्यवस्था नै फेल हुने दाबी गरे।
मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरुको स्थान नहुँदा पछि परिरहेको बताए। उनले बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको टिप्पणी गरे। उनले विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको बताए।

