कात्तिक ३० : रत्ननगर १३ जयमंगलामा रहेको पञ्चकन्या माविले अन्तराष्ट्रिय स्तरको फुटवलमा उत्कृष्ट खेल प्रर्दशन गरेका दुई छात्राहरुलाई बुधवार सम्मान गरेको छ ।
बंगलादेशमा सम्पन्न १५ बर्ष मुनिको महिला साफ च्याम्पियनसीप फुटवल प्रतियोगितामा कक्षा १२ मा अध्यायनरत सुजता तामाङ र शुशीला केसीलाई सम्मान गरेको हो । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी तामाङ र केसीले देशलाई जिताउन महत्वूर्ण भूमिका खेलेका थिए ।
उत्कृष्ट लेख प्रर्दशन गरेर नेपाललाई विश्व सामु चिनाउन भूमिका खेलेको भन्दै खेलाडीको हौसला बढाउन सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक अनिता पौडेलले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे,वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी र विद्यालयका अध्यक्ष इश्वर खनालले दुई खेलाडीलाई सम्मान गरेका हुन ।
सो अबसरमा वडाध्यक्ष घिमिरेले तामाङ र केसीको शिक्षाका लागि लाग्ने खर्च वडा कार्यालयले व्यहोर्ने बताए । अर्का वडाध्यक्ष सुवेदीले खेलाडीको हौसलाका लागि २० हजार रुपैया उपलब्ध गराउने घोषणा गरे । कार्यक्रम विद्यालयका अध्यक्ष इश्वर खनालको अध्यक्षतामा भएको थियो ।