शारदानगर । पछिल्ला दिनहरुमा सहकारीकर्मीहरुको अवलोकन भ्रमणको लोकप्रिय गन्तव्य मुलुकको जेठो सहकारीको इतिहास बोकेको बखान बहुउद्देश्यीय सहकारी बन्दै गएको छ । देशका ७७ वटै जिल्लाको चिनारी झल्किने गरी राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइएपछि सहकारीकर्मीहरुको आकर्षण बढेको हो ।
चितवनको शारदानगरस्थित बखान बहुउद्देश्यीय सहकारी संस्थामा दैनिकजसो देशभरिबाट भ्रमण टोली अवलोकनका निम्ति आउने गरेको बताउँछन्, सहकारीका अध्यक्ष भक्तबहादुर गुरूङ ।सहकारीमा ७३ जिल्लाका मानिसहरु भ्रमणका लागि आइसकेका छन् । सरकारी बिदा र शनिबारको दिन सहकारी भ्रमण टोली बढी आउने गर्दछन् । महिनामा करिब १५ देखि २० वटासम्म समूहहरु भ्रमणमा आउने गरेको उनले जानकारी दिए । अवलोकन भ्रमणमा आउने प्रत्येक समूहसँग २ हजार रूपैयाँ लिने गरिएको छ ।
२०१३ साल चैत २० गते स्व. बखानसिंह गुरूङको अगुवाइमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा स्थापित बखान सहकारी देशभरका करिब ३० हजार सहकारीहरुको अभिभावक संस्था हो । भरतपुर–१९ मा रहेको यो सहकारी भरतपुरको चौबीसकोठीबाट करिब १५ किलोमिटर पश्चिम शारदानगरमा पर्दछ ।
बखानसिंह गुरूङलाई नेपाली सहकारीका अगुवा, जन्मदाता, प्रणेता र संस्थापकको रुपमा लिइन्छ । सहकारिताको भावना भएका बखानसिंहले बस्ती बसाउन जग्गा वितरण भइरहेको बेला स्थानीय ६० जनालाई भेला गराई प्रतिव्यक्ति १० रूपैयाँका दरले ६०० रूपैयाँ जम्मा गरी २०१३ साल चैत २० गते ‘बखानपुर सहकारी ऋण समिति ’संस्था गठन गरेको इतिहास छ । ६० जना शेयर सदस्यहरुले प्रतिव्यक्ति १० रूपैयाँको शेयर रकम खरिद गरी कुल ६ सयको पुँजीबाट बखानको सहकारी यात्रा आरम्भ भएको अध्यक्ष गुरूङ बताउँछन् ।
२०१३ सालमा चितवनको राप्तीदून क्षेत्रमा गण्डकी भेकमा आएको बाढीपहिरोबाट विस्थापितहरुलाई जग्गा दिलाएर बस्ती बसाउने राप्तीदून विकास परियोजनाअन्तर्गत सहकारिताको माध्यमबाट ऋण सहयोग परिचालन गर्ने उद्देश्यले ऋणसम्बन्धी संस्था गठन कार्यमा भूमिका खलेको इतिहास छ । परियोजनाले प्रतिपरिवार कम्तीमा एक प्लट (५ बिघा) जग्गा उपलब्ध गराएर ढड्डी फाँड्ने कार्य ग¥यो । साथै ती परिवारलाई जीविकोपार्जन र कृषिकर्मका लागि आवश्यक सामग्री खरिद गर्न निव्र्याजी ३०० रूपैयाँ पनि प्रदान ग¥यो ।
औलोको प्रकोपका कारण त्यतिबेला चितवनमा बस्न धेरै कठिन थियो । त्यतिबेला राप्तीदून परियोजनाले एक हलगोरू पाल्नेलाई एक प्लट र परिवारमा वयस्क भए अर्को प्लट पनि जग्गा दिन्थ्यो । एक प्लटमा पाँच बिघा हुन्थ्यो । औलोको प्रकोपका कारण त्यतिबेला चितवनमा बस्न धेरै कठिन थियो । पहाडबाट झर्नेहरुका लागि के खाने र के गर्ने भन्ने अन्योल थियो । त्यस्तो विषम परिस्थितिमा एक्लाएक्लैभन्दा सामूहिकरुपमा कार्य गर्नुपर्छ भन्ने भावनाको विकास बखानसिंह गुरूङमा भयो ।
सहकारी अगुवा भए पनि कहिल्यै सञ्चालक समितिमा रहेर काम नगरेका उनी संरक्षकीय जिम्मेवारीमै रही नेतृत्वदायी भूमिका खेले । उनले स्थापना गरेको सहकारीको नाम अहिले उनकै सम्झनामा राखिएको छ । नेपालको पहिलो सहकारीका रुपमा रहेको यसले २०४६ को बहुदलीय व्यवस्थासँगै समितिले बहुउद्देश्यीय सहकारीको रुप पाएको थियो । त्यसबेला सहकारीमा पैसाको कारोबार खासै हुँदैनथ्यो । किसानलाई बीउबिजन र रासायनिक मलमात्रै नभई गाईवस्तु र भेडाबाख्राको मल जम्मा गरी दिइन्थ्यो । सहकारीले धर्मभकारीमार्फत अन्न जम्मा गथ्र्यो । पैसा लगानी गरेझैँ अन्न लगानी गरिन्थ्यो ।
बखान सहकारीले सरकारको पहलमा साढे ९ करोडमा बखान सङ्ग्रहालय निर्माणको परियोजना अघि बढाएको छ । ४ बिघा क्षेत्रफलमा भवन, सङ्ग्रहालयलगायतका अचल सम्पत्ति भएको बखानमा तरल पुँजी नभएको अवस्था छ । बखान सहकारीको अहिलेको काम भनेको मल बिक्री गर्ने, तोरीको तेल प्रशोधन गरेर बिक्री गर्ने र एकदमै न्यून ऋण सेवा प्रदान गर्नेमा सीमित छ । सस्तो दरले शुद्ध तोरीको तेल बिक्री गर्दै आएको छ । त्यसैगरी, मल र सिजनअनुसार बीउ बिक्री गर्दै आएको अध्यक्ष गुरूङ बताउँछन् ।
बखानसिंहको पहलमा स्थापित बखानपुर ऋण सहकारी संस्था पञ्चायती व्यवस्था आएपछि नाम परिवर्तन भएर शारदानगर साझा संस्था हुँदै पुनः बखान सहकारी संस्था भएर हाल ‘बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का नाममा सञ्चालित छ । बखानलाई सहकारी अध्ययन केन्द्र पाठशालाको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष गुरूङ बताउँछन् ।