बैशाख १३, चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आफ्ना समर्थकले गाली गरेका चितवनकी किशोरीसँग माफी मागेका छन्।
उपचुनावको संघारमा एक भिडिओमा कांग्रेसलाई भोट हाल्छु भनेपछि रविका समर्थकले सामाजिक सञ्जालमा गाली गरेकी किशोरीसँग रविले घुँडा टेकेर माफी मागेका हुन्।
उपचुनावको प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। उनले अरुलाई जसलाई भोट दिन मन लाग्छ दिन मिल्ने तर आफू घण्टीमा नभई रुखमा भोट हाल्ने बताएकी थिइन्।
मंसिर ४ को निर्वाचनमा रविलाई नै भोट दिएको तर नागरिकता विवादले रविप्रतिको मोह घटेको युवतीले बताएकी थिइन्। उक्त भिडिओ सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले उनीमाथि सामाजिक सञ्जालमा अश्लील गाली गरेका थिए।
समर्थकले गल्ती गरेको भन्दै चुनाव जितेपछि रवि किशोरीको घरमै पुगेका हुन्। रविले किशोरीसँग माफी मागेको भिडियोमा ,’हामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ’ भनेका छन्।
उनले आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने पनि ती किशोरीलाई आश्वस्त पारे। मन नपर्दा विरोध गर्न पाइने बताउँदै उनले भने,‘सरी नानु। म यसरी बसेर(घुँटा टेकेर) सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु।’
https://www.facebook.com/watch/?v=1276501539939840