१४ वैशाख, पर्वत । पछिल्लो उप—निर्वाचन पछि देश भरको राजनीतिले फरक मोड लिँदैछ । यो मोडको असर पर्वत कांग्रेसमा स्पष्ट देखिएको छ । यस अघि नेतृत्वको कार्यशैली र भूमिका प्रति असहमती जनाउँदै आएका पर्वत कांग्रेसका युवाहरुले कांग्रेसमा संस्थागत विद्रोहको तयारी गरेका छन् । जिल्लामा दोस्रो राजनैतिक शक्तिको रुपमा देखिएको कांग्रेसको आन्तरीक कलह लामो समय देखि कायम छ । नेपाली कांग्रेस विभक्त भएर प्रजातान्त्रिक बनेपछि पर्वत कांग्रेसमा स्वतः दुई धारहरु उत्पन्न भए । ति धारहरु पाटी एकता भएपछि पनि कायम भए । एक धारको नेतृत्व अर्जुन जोशीले गरे भने अर्को धारको नेतृत्व नवराज गुरुङले गरे । यहि धारका कारण सधै विवादमा रहने कांग्रेसले २०६४ सालमा एक सिट प्रतिनिधि सभा र २०७० सालमा पुनः एक सिट प्रतिनिधि सभाका निर्वाचन भने जित्न सफल भयो । २०७४ साल र २०७९ सालका दुवै आम निर्वाचनमा पराजय वेहोरेको कांग्रेसले स्थानीय तहहरुमा गठबन्धन गरी निर्वाचन लड्यो । स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरु जितेर पनि सवै स्थानीय तहमा कांग्रेसले बहुमत गुमायो ।
कांग्रेसको संस्थागत विद्रोह जिल्ला अधिवेशन देखि नै शुरु भएको देखिन्छ । कांग्रेसका पूर्व केन्द्रिय सदस्य समेत रहेका अर्जुन जोशीले आफ्ना सहोदर भाई युवराज जोशीलाई जिल्ला सभापति पदमा निर्वाचित गराउन भूमिका निर्वाह गरे । जोशी जिल्ला सभापति बने लगतै कुश्मा नगरपालिकाको मेयरको आकांक्षी समेत बने । यी घटनाबाट दुई धार वीचको लडाईले पुनः संस्थागत लडाईको बाटोमा कांग्रेसलाई उभ्यायो । ‘दाई पछि भाई’ भन्ने नाराका वीच कांग्रेसको असन्तुलन २०७९ सालको निर्वाचनमा पुनः देखा परयो । २०७९ सालको निर्वाचनमा पाँचौ पटक पुनः अर्जुन जोशी नै प्रतिनिधि सभाका उमेदवार बने । निरन्तर विगत २५ बर्ष देखि उमेदवार बनेका जोशी विरुद्ध पर्वत कांग्रेसका युवाहरुले संस्थागत रुपमा घेराबन्दी गरे । २०५६ सालमा पहिलो पटक उमेदवार बनेका जोशी २०७९ सालमा समेत उमेदवार बन्दा कांग्रेस भित्र असन्तुष्टिका स्वरहरु गुन्जायमान बने । फलस्वरुपः जोशी पाँचौ पटकको निर्वाचनमा दोस्रो पटक पराजीत भए ।
२०७९ सालको आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा माओवादीसंग भएको गठबन्धनका कारण कतिपय नेताहरु उमेदवार बन्नबाट बन्चित रहेका कारण पार्टी भित्र असन्तुष्टि कायम नै थियो । यहि वीच नयाँ एजेण्डा, विचार र सिद्धान्त लिएर पुराना दलहरुले युवाहरुको मन जिन्त नसकिरहेको बेला पर्वत कांग्रेसका ३१ जना युवाहरुले हिजो मात्रै एक सार्वजनिक सुचना जारी गर्दै कागं्रेस पाटी परित्याग गरेको घोषणा गरेका छन् ।
युवाहरु भित्र कांग्रेस पाटीको क्रेज क्रमशः घट्दै गएको छ । पाटीको जिल्ला सभापति पदमा नेविसंघका पूर्व जिल्ला अध्यक्ष मिलन सुवेदीले प्रतिस्पर्धा गरे । विजयी हुन सकेनन् । उनको बुझाईमा कांग्रेस भित्र पुराना र पटक—पटक दोहोरिएकाले मात्र अवसर पाउने भएपछि युवाहरुको सम्भावना न्यून छ । त्यहि बुझाईले उनले ३१ जना युवाहरु सहित कांग्रेस भित्र विद्रोह गरेका छन् । सुवेदीले कांग्रेस परित्याग गरेको घोषणा गरेपछि कांग्रेसका धेरै कार्यकर्ताहरुले खुशी ब्यक्त मात्र गरेका छैनन, उनको आगामी राजनैतिक भविश्य सुखद होस् भन्ने कामना समेत गरेका छन् ।
पाटी छाडेर विद्रोह गर्नेको भन्दा ठूलो संख्या पाटी भित्रै बसेर विद्रोह गर्नेका पनि छ । एक साता अघि मात्रै नेविसंघ भित्र विद्रोह भएको छ । समानान्तर कमिटि गठन गर्दै कांग्रेस भित्रको विद्रोहलाई युवा विद्यार्थीहरुले मूर्तरुप दिएका छन् । केहि दिन अघि भएको कांग्रेसको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम पनि विवादीत बन्यो । निश्चित नेताहरुले मात्र स्टेज कब्जा गरेको भन्दै पूर्व सभापति नवराज गुरुङले सामाजिक सञ्जाल मार्फत त्यसको विरोध गरेका थिए । प्रशिक्षण कार्यक्रममा इतर समूहको उपस्थिती थिएन् ।
नेपाली कांग्रेस पर्वतका विद्रोही समूहका नेताहरुका चाहना फुट भन्दा पनि विद्रोह तिर नै लक्षित छ । एक नेता भन्छनर्—कांग्रेस भित्र पहिलो अवस्थामा विद्रोह गर्ने हो, त्यो विद्रोह कांग्रेस सुधारका लागि हुन्छ, पहिलो सम्भव नभए त्यसपछिका विकल्प प्रयोग गर्ने हो ।’ ति नेताको बुझाईमा कांग्रेसलाई बलियो बनाउन जिल्ला सभापतिले राजीनामा दिनुपर्नेछ । अर्को निर्वाचनहरुमा नयाँ उमेदवार खडा गर्ने गरी कांग्रेस नेतृत्वले कार्यविधि बनाउन आवश्यक रहेको कांग्रेसका अर्का एक नेता बताउँछन् ।
पछिल्लो उप निर्वाचनमा ठूला दलहरु प्रति जनताको कम आकर्षणका कारण पनि पर्वत कांग्रेस भित्रको विद्रोहले मुर्तरुप लिएको हो । लामो संघर्ष, योगदान र बलिदानबाट प्राप्त राजनैतिक ब्यवस्था प्रति जनताको निराशा बढ्दै जाँदा त्यसले एक दिन पुनः ब्यवस्था परिर्वतनको विषय उठ्न थाल्नेछ ।