सिद्धि छात्रावासलाई सहयोग
सिद्धि । कालिका नगरपालिका वडा नं. १० सिद्धिबजारमा रहेको सिद्धि छात्रावासलाई अर्थिक सहयोग गरिएको छ ।
चितवन समाज जर्मनीका भाइस प्रिसिडेन्ट तथा तथा एनअएनए(प्रान्तिय नेडरज्याक्सन)का पुर्व भाइस प्रिसिडेन्ट राजेशलाल श्रेष्ठ द्वारा सहयोग रकम बुधबार उक्त छात्रावासलाई हस्तान्तरण गरिएको हो ।
कमजोर आर्थिक जगमा उभिएको छात्रावासमा रहेका बालबालिकाका लागि खाद्यान्न, स्टेसनरी तथा औषधि उपचारमा सघाउ पुर्याउनका निम्ती सहयोग गरिएको श्रेष्ठले बताए । उनले उक्त छात्रावासलाई प्रायः हरेक वर्षजस्तै सहयोग गर्दै आइरहेका छन्। उनले यसै छात्रवासमा अध्ययनरत ४ जना चेपाङ वालवालिकाहरूको अभिभावकत्व ग्रहण पनी गरेका छन।
२०७४ सालमा स्थापना भएको छात्रावासमा २६ जना छात्रासहित ५४ जना चेपाङ बालबालिकाले आश्रय लिएर अध्ययन गरिरहेका छन् । संस्था स्थापना कालदेखि नै दाताहरुकै सहयोगमा चलिरहेको छ । छात्रावास स्थापना भएपछि पढाइबाट वञ्चित भएका विपन्न चेपाङ बालबालिकाले शिक्षाको ज्योति देख्न पाएको छात्रावासका सञ्चालक भरत चेपाङले बताए ।
उनले बेलाबेला सामजिक सञ्जालमा खाद्यान्नलगायत आर्थिक साहयता हारगुहार गर्दै जुटाइरहेको र छात्रावासमा बालबालिकाको लागि आवश्यक पूर्वाधारसमेतको अभाव रहेको वताए। उनले भने ‘पढ्नका लागि टेबल कुर्ची त परै जाओस्, सुत्नका लागि पर्याप्त कोठाहरू छैनन्, खाट छैनन’,। टिनले छाएको कोठा गर्मी लागेसँगै बाफिलो बनेका छन् । ‘जाडो महिनामा जेनतेन चले पनि गर्मी महिना कसरी कटाउने भन्ने चिन्ता उत्तिकै छ । एउटै बेडमा पाँच जनासम्म सुत्छन्, आयस्रोतको राम्रो माध्यम केही छैन’, भरतले भने ।