नेपाली कांग्रेसका सांसदकुमार गगन थापाले विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन्। भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको उनले बताए।
उनले भने, ‘विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो र दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ,’ प्रतिनिधिसभाको आजको बैठकमा थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।’
उनले पहिले कानुन नहुँदा यात्रीको दर्ता नभएको पनि बताए। ‘पहिले कानुन थिएन र दर्ता भएन। अहिले कानुन बन्यो दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ,’ थापाले भने।
सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने उनले बताए। ‘स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरूसाहित हुन नदियोस्। आफ्नो नीतिको लाज राखोस्, सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।