चितवन, साउन ११-चितवनका उद्योगी तथा व्यवसायीहरुले नेपाल राष्ट्र बैँकले हालसालै सार्वजनिक गरेको मौद्रिक नीति निजी क्षेत्रको लागि अनेपेक्षित भएको बताएका छन् ।
चितवन उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ र चितवन चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति जारी गर्दै मौद्रिक नीति निजी क्षेत्रले आशा गरे अनुसार नआएको बताएका ह्न् ।
विज्ञप्तिमा वर्तमानआर्थिक मन्दीको चपेटाबाट शिथिल भएको निजी क्षेत्रलाई पुनरुत्थान गर्न सहयोगी हुने आशा व्यवसायीले गरे पनि मौद्रिक नीति आशा गरे अनुसार नआएको जनाइएको छ । उद्योग\व्यवसायलाई पलायन हुनबाट बचाउनेमा निजी क्षेत्र आशावादी भएको भएता पनि नेपाल राष्ट्र बैंकबाट २०८० साउन ७ गते जारी गरिएको मौद्रिक नीतिले निजी क्षेत्रको अपेक्षालाई सम्बोधन गर्न नसकेको निजी क्षेत्रले अनुभुति गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने वर्तमान समयमा निजी क्षेत्रले अपेक्षा गरे अनुसारको तत्काल राहत महसुस हुने खुकुलो मौद्रिक नीति नआउँदा ब्याजदर घट्ने, नगदप्रवाह बढ्ने, माग बृद्धि हुने, गुमेको रोजगारीलाई फर्काउने तथा थप रोजगारी सिर्जना गर्नेमा मौद्रिक नीति सहयोगी हुने देखिएको छैन । साथै मौद्रिक नीतिमा उल्लेख गरिने भाषा विशिष्ट र तथ्यगत नभई सम्भावनालाई इंकित गर्दै क्षणिक आशा देखाउने खालको मात्र भाषा प्रयोग हुनुले बैँक तथा बित्तीय संस्थाको तजविजमा कार्यान्वयन हुने भएकोले कार्यान्वयन पक्ष कमजोर हुन सक्छ ।’
मौद्रिक नीतिले मन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने गरी कुनै व्यवस्थालाई नसमेटेको चितवनका उद्योगी तथा व्यवसायीहरुको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रमा जाने कर्जा प्रवाहलाई सरल बनाएर लगानीमा प्रोत्साहन गर्नुको सट्टा निजी क्षेत्रमा जाने कर्जालाई लगभग ९ प्रतिशतले कम गर्ने लक्ष्यसहित झन् कडाइ गर्दा थप लगानीका लागि निजी क्षेत्र उत्साहित देखिँदैन । उद्यमी व्यवसायी र सर्बसाधारणमा समेत ब्याजदरमा कमी होस् भन्ने अपेक्षा रहेकोमा राष्ट्र बैँक भने ब्याजदर थप नघटोस् भन्ने मानसिकतामा रहेको मौद्रिक नीतिमा स्पष्ट रुपमा देख्न सकिन्छ । ’
मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीतिलाई सन्तुलनमा राख्न आन्तरिक उत्पादन सुदृढ बनाउने, माग र आपूर्तिबीच सन्तुलन मिलाउने र बजार मूल्य अनुगमनलाई प्रभावकारी बनाई कृत्रिम मूल्य बृद्धि हुन नदिने विषयलाई प्रष्ट्याउन नसक्दा आर्थिक वर्ष २०८०\०८१ म मुद्रास्फीर्ति झन् बढ्ने व्यवसायीको अनुमान छ । वर्तमान समयको आर्थिक मन्दीबाट छुट्कारा दिई अर्थतन्त्रलाई पुरानै लयमा लैजान आवश्यक व्यवस्था गर्ने तर्फ व्यवसायीहरुले नेपाल राष्ट्र बैँकको ध्यानाकर्षण पनि गरेका छन् । विज्ञप्तिमा व्यवसायी तथा उद्योगीले बैंक ब्याजदरलाई १ अंकमा झार्नुपर्ने, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको कार्यान्वयनलाई थप दुई वर्षको लागि स्थगन गर्नुपर्ने, उद्योगी\व्यवसायीले आवश्यकता महसुस गरी सम्बन्धित बैँकमा आवेदन गरेमा कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा प्राप्त हुने व्यवस्था गर्नुपर्ने, उद्योग व्यवसायमा मन्दीले पारेको प्रभावका आधारमा सहुलियतपूर्ण कर्जाको क्षेत्र बिस्तार गरी सहुलियतपूर्ण कर्जाको सीमा समेत थप गरी सहुलियतपूर्ण कर्जाउपलब्धहुने व्यवस्था गर्नुपर्नेलगायत माग व्यवसायीको छ । विज्ञप्तिमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल र चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

