आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको छ । गिरीले आफूलाई कथित अभियन्ता बताउने गरेका छन् । गिरी फोटो पत्रकार पनि हुन् ।
अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका विषयमा गिरीले पर्वतका पत्रकारविरुद्ध लेखेका छन् । पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि पर्वतका पत्रकारहरूले प्रमाणित गर्न प्रश्न गरेका छन् ।
पत्रकार गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले बताएका छन् ।
साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार भएको र पहिलो मुद्दा नै पत्रकारमाथि परेको न्यौपानेले बताए ।
किटानी जाहेरी नै परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको र बाँकी कानूनी प्रक्रियाअनुसार हुने डीएसपी न्यौपानेले बताएका छन् ।
पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले गिरीविरुद्ध किटानी जाहेरी दिएका छन् ।
गिरीले गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताएका छन् ।
वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका गिरी केही वर्षदेखि कालीगण्डकी बचाउ अभियान, कुश्मा कला परियोजना चलाइरहेका छन् ।