काठमाडौं, साउन २७ : सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रबाट सरकारमा गएकामध्ये एक जनालाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउन लागिएको हो ।
माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मन्त्री थप्ने विषय टुंगिन बाँकी रहेको बताए। ‘उहाँहरूले पहिला नै दिएको नाम हो, टुंगिसकेको छैन’, उनले भने, ‘विषय टुंगिए पछि मात्रै मन्त्री फिर्ता बोलाउने र थप्ने कुरा हुन्छ।’
जनमत पार्टीका सांसद अब्दुल खानले भने भोलिसम्म सरकारमा सहभागी हुने बताए। ‘हामीले यही मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘प्रधानमन्त्रीले जुन मन्त्रालय खाली गराउन सक्नुहुन्छ त्यसैमा जाने कुरा छ।’
यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।