इंग्ल्यान्ड आयोजक राष्ट्र अस्ट्रेलियालाई पराजित गर्दै महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बुधबार भएको खेलमा घरेलु टिम अस्ट्रेलियालाई ३–१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलोपटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डका लागि इल्ला टुन, लौरेन हेम्प र अलेसिया रुसोले गोल गरे । यता, अस्ट्रेलियाका लागि साम केरले गोल फर्काइन् । खेलको ३६औँ मिनेटमा इल्लाले गोल गर्दै इंग्ल्यान्डलाई १–० गोलको अग्रता दिलाइन् । उनकै गोलमा इंग्ल्यान्डले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ६३औँ मिनेटमा सामले उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई १–१ गोलको बराबरीमा ल्याइन् । तर बाँकी समयमा अस्ट्रेलियाले दुई गोल खान पुग्यो ।
खेलको ७१औँ मिनेटमा लौरेनले गोल गर्दै अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डलाई २–१ गोलको अग्रता दिलाइन् । खेलको ८६औँ मिनेटमा एलेसियाले गोल गर्दै इंग्ल्यान्डलाई ३–१ गोलको जित दिलाइन् ।
यो जितसँगै इंग्ल्यान्डले अब उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र इंग्ल्यान्डबीचको खेल २० अगस्टमा सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा हुनेछ । स्पेनले स्वीडेनलाई सेमिफाइनलमा पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाएको हो । त्यस्तै अस्ट्रेलियाले स्वीडेनविरुद्ध तेस्रो स्थानका लागि ब्रिसबनमा प्रतिस्पर्धा गर्नेछ ।