‘अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि’ शीर्षकको समाचारलाई लिएर चितवन पोष्ट दैनिक र नारायणी अनलाइनलाई धम्की दिनुका साथै कार्यालयभित्रै हुलहुज्जत गरिएको छ । साउन ३१ गते अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा छ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । बस चालकको स्वास्थ्य परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको थियो ।
सोहि समाचारको विषयमा अक्सफोर्ड कलेजले आज केहि युवाहरु परिचालन गरि आज धम्की दिएको छ । घटनालाई लुकाउन कलेज सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारीसहितको टोलीले चितवन पोष्टको कार्यालयमा घुसेर धाकधम्की दिनुका साथै हुलहुज्जत गरेको हो ।
घटनापछि चितवन पोष्ट दैनिकले एक विज्ञप्ति जारी गरि समाचारको विषयमा सञ्चारमाध्यममै घुसेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतंकित पारिएको बताएको छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिँदा असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताए ।
‘समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ’, विज्ञप्तिमा भनिएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल समेत रहेका भण्डारीले जारी गरि आफ्नो बस चालकले लागु पदार्थ सेवन नगरेको दाबी गरेका छन् ।
साथै नारायणी अनलाइनमा पनि उनीहरुकै समूहले धम्की दिएको नारायणी अनलाइनले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बस चालकको स्वास्थ्य रिपोर्टमा गाँजा खाएको पुष्टि भएको बताए । ‘बस चालकको रिपोर्टमा गाँजा खाएको पुष्टि भएको छ । रगतमा देखिने भएकाले केहि दिनअघिसम्मको पनि देखिन्छ’, उनले भने, ‘घटनाको विषयमा थप अनुसन्धान हुँदै छ ।’