बागलुङ/नेपालीमा एउटा भनाई प्रचलित छ–सरकारी काम कहिले जाला घाम ! सरकारी संस्थाहरुमा हुने ढिलासुस्ती र सेवाग्राहीले हैरानी भोग्नुपर्दा यो भनाइ चरितार्थ छ । तर, केही कर्मचारी आफ्नो ससाना जिम्मेवारीमात्रै पूरा गर्दा पनि सेवामा कति फरक पर्न जान्छ एक उदाहरण हुन्, केशव शर्मा ।
शर्मा त्यही नाम हो, जसको कारण साविक धौलागिरि प्रविधिको क्षेत्रमा छोटो समयमा फड्को मार्न सक्यो । नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका शर्माले कुनै खास काम गरेर होइन, आफूले पाएको जिम्मेवारी पूरा गरेर जनसेवा गरिरहेका छन् ।
शर्माले निजी क्षेत्रको ७० र नेपाल टेलिकमको ३० भाग ओगटेको साविक धौलागिरि अञ्चलका ४ जिल्लामा मोबाइल तथा इन्टरनेटको प्रयोगलाई ६ वर्षमा उल्ट्याए । अहिले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको ७० र अरु निजी क्षेत्रका सेवा प्रदायकको सेवा ३० प्रतिशत प्रयोगमा
आउने गरेको तथ्यांक छ । छोटो समयमा केशव र उनको समुहले गरेको मेहनतले टेलिकमले नतिजा उल्ट्याउन सकेको हो ।
देशभरमै पहिलो पटक बागलुङबाट नेपाल टेलिकमको फाइबर तारमार्फत इन्टरनेट प्रवाहदेखि कुनाकन्दरासम्म सहज फोरजी सेवा विस्तारमा शर्माको साइनो छ । फाइबरमार्फत इन्टरनेट अत्याधुनिक सेवा मानिन्छ ।
प्रायः नयाँ प्रविधि र सेवा आउँदा देशका ठूला सहरले पहिलो हिस्सा खोज्छन् । तर, केशव त्यस्ता व्यक्ति हुन जसले मोफसलबाट फाइबर विस्तार गर्ने आँट गरे । देशमै पहिलो पटक बागलुङबाट फाइबर विस्तारको अभियान थाले र सफल पनि भए ।
बागलुङको ढोरपाटन, निशेलढोरजस्ता भूगोलले दुर्गम क्षेत्र, मुस्ताङको ध्येय, कोराला, म्याग्दीको गुर्जाजस्ता दुर्गम ठाउँमा सरकारी स्वामित्वको सर्वसुलभ मोबाइल सञ्जाल विस्तारमा शर्माको मेहनत छ ।
देश आत्मनिर्भर बन्नका लागि जिम्मेवारी बोध र कर्मशिलतालाई स्वीकार गर्नुपर्ने धारणा राख्छन्, शर्मा । कर्ममा आफू लाग्ने र अरुलाई पनि कर्म गर्नका लागि प्रेरणा प्रदान गर्ने उनको गुण आफूमा भएको उनको दाबी छ । ‘स्वार्थ र लालच नभए सोचेको काम गर्न सकिन्छ, आँटेको सबै पुग्छ,’ शर्मा भन्छन् ‘पाउने र लिनेभन्दा दिने भाव विकासका लागि सहि बाटो हो ।’
शर्माले बागलुङमा सेवा प्रारम्भ गरेको ६ वर्ष मात्रै भएको छ । साविक धौलागिरिका बागलुङ पर्वत, म्याग्दी र मुस्ताङको दूरसञ्चार सेवाको जिम्मेवारी उनको काँधमा छ । ६ वर्षको अवधिमा देशका अन्य जिल्लाको तुलनामामा ४ जिल्ला टेलिकमको सेवा प्रवाहमा चुस्तता वृद्धि भएको छ ।
शर्माले नेपाल टेलिकम बागलुङको जिम्मेवारी सम्हाल्दा ४ जिल्लामा ७२ वटामात्रै मोबाइल फोनका बिटिएस टावरहरु थिए । ल्यान्डलाइन फोन र इन्टरनेटका लागि तामाको तारकै भर थियो । अहिले १५० टावर तयार भएका छन् । १३ वटा टावर थप हुने चरणमा छन् ।
अधिकांश टावरबाट चौथो पुस्ताको इन्टरनेट चल्नसक्ने डाटा र भ्वाइस सेवा प्रवाह हुन्छ । चार जिल्लाका ठूला बजार क्षेत्रमा तामाको तारको सट्टा फाइबर पुगेको छ । फोनमा बोल्नेका लागि कुना कन्दरामा स्पष्ट आवाज आउँछ, इन्टरनेटको गति निजी क्षेत्रभन्दा राम्रो छ ।
कुनै बेला बागलुङ बजार र आसपासका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कभन्दा नाक खुम्च्याउनेहरु अहिले खोजी खोजी टेलिकमका सेवा उपभोग गर्छन् । ‘२०७६ सालमा जिल्लाभरी तामाको तार भएका ठाउँमा एकैपटक फाइबर परिवर्तन गर्न खोज्दा देशभर कहींकतै यस्तो काम भएकै थिएन, निजी क्षेत्रले केही ठाउँमा फाइबर विस्तार गरेका थिए,’ उनले भने, ‘टेलिकमले पहिलो पटक बागलुङबाट थालेको हो ।’
बागलुङमा टेलिकमको फाइबर विस्तार गर्दा चुनौतीको चाङ भएको तर, त्यसलाई चिर्दैै आफू सफल हुन सकेको शर्माको जिकिर छ । ‘तर एक दिनपनि सेवा अबरुद्ध नगरी हामीले तोकिएकै समयमा काम पुरा गरेका थियौं,’ उनले भने, ‘गुनासो आएका ठाउँमा सेवा विस्तार र सेवा सुधारका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’
२०६५ सालमा नेपाल टेलिकमको मोबाइल सेवा निर्देशनालयबाट काम थालेका शर्मा ८ वर्षपछि बागलुङमा दूरसञ्चार सेवा सुधारकै लागि आए । २०७३ चैतमा सरुवा भएर आएका शर्माले पहिलो दिनदेखि नै टेलिकमका सेवा सुधार थालेका थिए । मोबाइल सेवा निर्देशनालयको अनुभव र वरिष्ठ इञ्जिनियर हुनेबेलासम्मको अध्ययनलाई उनले जोडबलका साथ काममा लगाए ।
आएकै दिनदेखि दिनरात काममा खटिएका शर्माले आवाज नबुझिने भ्वाइस, फाइल कम्पोज नहुने इन्टरनेटलाई सुधार गरेर ग्राहकको रोजाइ बनाएका छन् । ‘देशभर अहिले पनि फाइबर विस्तारको काम चलिरहेको छ, ल्यान्डलाइन फाइबरबाट दिँदा नम्बर परिवर्तन भएका छन्,’ भन्छन्, ‘तर मैले धौलागिरिमा ग्राहकलाई मर्का पर्ला भनेर त्यसो गर्न दिइनँ ।’
ग्राहकको उपस्थिति हेरेरमात्रै सेवा विस्तार गर्ने नेपाल टेलिकमको परम्परागत प्रचलन शर्माले तोडेका थिए । ‘अहिले ग्राहक यात्रा गर्दा पहिले आफू पुग्ने स्थानको मोबाइल र इन्टरनेट सेवाको विषयमा बुझेरमात्रै यात्रा गर्छ, स्थायीबासी मात्रै हाम्रो ग्राहक होइनन्, यात्रुलाई पनि सेवा दिनु हाम्रो दायित्व हो,’ शर्मा भन्छन् ‘जहाँ बस्ती कम छ, त्यहाँ हामी पुगेका छौं ।’
शर्मा आएपछि टेलिकमको कार्यालय पनि सुधारिएको छ । टेलिकमकै बिग्रेका सामग्री थुप्रो लाग्ने कार्यालय परिसर बगैँचा जस्तै छ । कार्यलयमा रहेका १३ जना स्थायी र ४ जना अस्थायी कर्मचारी आ–आफ्नो काम सिस्टममा गर्छन् ।
‘आफू अघि लाएपछि सबैले आफ्नै गतिमा काम गर्छन्, कर्मचारीलाई काम गर मात्रै भन्ने होइन पृष्ठपोषण, मोटिभेसन र सुविधा सबै दिनसक्नु पर्छ,’ शर्मा भन्छन्, ‘आफू बसेर अरुलाई लगाउँदा कसैले काम गर्दैन ।’
कार्यालय मातहतमा ६ वटा गाडी गुड्छन् । कर्मचारीकै सहायता लिने हो भनेपनि कार्यालयमा काम गर्ने अधिकांश कर्मचारीका सवारी साधन छन् । तर, उनी पैदल नै हिँडेर कार्यालय पुग्छन् । न त लवाइखुवाइमा तडकभडक न बोलीबचनमा अहमता । उनको सरल स्वभावले धेरै प्रभावित हुन्छन् ।
सामुन्द्रिक सतहबाट ४ हजार ४ सय ५० मिटर उचाइमा रहेको मुस्ताङको धेय गाउँमा टावर जडान गर्दा लेक लागेर भागाभाग भएकोदेखि म्याग्दीको गुर्जामा टावर विस्तार गर्न जाँदा हिउँपहिरोमा परेका कठिन यात्राका अनुभव उनीसँग छन् ।
बागलुङ बजारदेखि अर्नाकोटसम्म, बेनीबजारदेखि रुमसम्म, कुश्मादेखि फलेवाससम्म र मुस्ताङको लेतेदेखि मुक्तिनाथसम्मका स–साना गाउँहरुमा फाइबर पु¥याउने उनको योजना छ । ‘समयअनुसार चल्न सकेन भने समयले पर्खिँदैन,’ शर्मा भन्छन् । उनले बनाएका योजना पूरा हुँदा बागलुङका दुर्गम गाउँहरुमा सरकारी स्वामित्वको सर्वसुलभ इन्टरनेट पु¥याउने पहिलो जिल्ला हुने छ ।
फोन तथा इन्टरनेटमा आइरहने समस्या समाधान गर्ने, हावाहुरी र समान्य बदलीमा समेत अवरुद्ध हुने ‘भिस्याट’ प्रविधिको अन्त्य गर्ने काम गरेर शर्माले सर्वसाधारणको मन जितेका छन् । धौलागिरि बोर्डिङ स्कुलमा अक्षर चिनेका शर्मा पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर डिग्री गर्ने बेलासम्म पढाइमा सधैं अब्बल रहे ।
सन् २०११ मा पूर्वाञ्चल विश्वविद्यालयबाट इञ्जिनियरिङ म्यानेजमेन्टका गोल्ड मेडलिस्ट हुन् शर्मा । राष्ट्रपतिले प्रदान गर्ने जनसेवाश्री चतुर्थबाट विभूषित भइसकेका शर्माको कर्मले उनको परिचय बनाएको छ ।
केशव त्यस्ता व्यक्ति हुन जसले मोफसलबाट फाइबर विस्तार गर्ने आँट गरे । देशमै पहिलो पटक बागलुङबाट फाइबर विस्तारको अभियान थाले र सफल पनि भए ।