पटिहानी । चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको संरक्षणको लागि मंसिर १ गते राप्ती नदी संरक्षण दिवस मनाईने तयारी थालिएकोछ।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले संरक्षण सम्बद्ध सबै निकाय र स्थानीय तह सँग समन्वय गरी दिवस मनाउन तयारी थालेको हो।
चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको संरक्षण र सरसफाई अभियानको प्रेरणाको लागि यो दिवस मनाउन लागिएको अभियानका संयोजक अपिल घिमिरेले बताय।
राप्ती नदी संरक्षण दिवसको अवसरमा नदी अधिकारको बारेमा छलफल हुने र वर्ष भरि सञ्चालन गरिएका सरसफाई कार्यक्रमका बारेमा प्रस्तुति साथै आगामी दिनमा निकुञ्ज,नदी, वन र तालतलैयामा हुने प्रदुषणका विरुद्ध लड्न अभियानको दायरा बढाउने बारे छलफल गरिने उनले वताए।
आफ्नो वरपरका क्षेत्रमा बढेको फोहोरले संरक्षणमा असर गरेपछि उनको नेतृत्वमा सफाइ अभियान चलेको थियो।अभियानले नियमितरुपमा यस क्षेत्रका वन, खोला, तटीय क्षेत्रदेखि गाउँको सरसफाइ गर्दै आएको छ ।
‘कहिले खुट्टामा सिसा गडेर गैँडाको बच्चा घाइते भएको देख्नुपर्ने, कहिले बँदेल र चित्तलको आन्द्रामा प्लास्टिक अड्किने,जनावरको दिसामा प्लास्टिक र रगत भेटिने गर्दथ्यो’,घिमिरेले भने,‘जथाभावी फालिएका फोहोरले जनावरमा गम्भीर असर गरेको महसुस गरेपछि सरसफाइमा स्थानीयवासीको चासो हुनुपर्छ भनेर अभियान थालेका थियौँ ।’
अति संकटापन्न घडियाल गोही,दुर्लभ ओत,विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चराहरू,कछुवा, माछा लगायतका जलचर प्राणीहरूको आश्रय स्थल रहेको राप्ती नदीमा प्रदुषण बढे पछि नदी तटीय क्षेत्र सरसफाई थालनी गरिएको संयोजक घिमिरेले वताए।
२०७३ साल माघ २३ गतेबाट सरसफाई कार्यक्रम शुरू गरेपनि अभियान कै रूपमा २०७५ साल मंसिर एक गतेबाट सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उनले वताए।
२०७५ मंसिर एक गते प्रदेशका माननीय सांसद,स्थानीय तहका जन प्रतिनिधि, राजनीतिक दल,मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, उपभोक्ता समिति नेपाल प्रहरी,देशभरका बिभिन्न स्थानमा सञ्चालित नदी संरक्षण अभियन्ता, शिक्षक, सञ्चारकर्मी, वित्तीय संस्था, ईको क्लव, क्लव हरू, स्काउट, शिक्षक परिवार, पर्यटन व्यवसायीहरू विद्यार्थी, संरक्षणकर्मी लगायतको उपस्थितीमा अभियान थालिएको थियो।
त्यसयता यस संस्थाले हरेक शनिबार बिहान एकघन्टा उक्तक्षेत्रमा संरक्षणका लागि सरसफाइ गर्दै आएको छ। सरसफाइ अभियानमा स्थानीय समाजसेवी, युवा, विद्यार्थी, पटिहानी मध्यवर्ती उपभोक्ता समिति,बेलशहर मध्यवर्ती सामुदायिक वन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, पर्यटन प्रहरीहरुको पनि सहभागिता रहने गर्छ।
हरेक पक्षको निरन्तरको सहभागितामा राप्ती नदी संरक्षण र सरसफाई अभियान सञ्चालन गरिएको ४४२ अंक पुगि सकेको छ । अभियानका क्रममा नदी तथा वन क्षेत्रबाट हालसम्म अठार हजार केजी प्लाष्टिक,सिसा, रवर ,कपडा,किला काँटी लगायतका फोहोर संकलन र व्यवस्थापन गरिएको छ।
अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको संयोजक घिमिरेले वताए। उनले भने, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”
“नदीमा माछा मार्न राखेको तयारी जालमा फसेर छटपटाइरहेका धेरै घडियालको उद्धार गरिएको छ,”उनले भने। विशेष त नदीमा सोझै जाने प्लास्टिकजन्य फोहोर पानीको तल्लो भागमा जमेर बस्ने र त्यहाँ गोही माछाका लागि चाहिने लेउ लाग्दा त्यही लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीहरूले खाने गरेको पाइन्छ।