दोहा, कतार : महोत्तरीको जलेश्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ । पार्टी सभापति रवि लामिछाने र सह-कोषाध्यक्ष दीपक बोहरा प्रवासमा संगठन निर्माण, विस्तारका लागि भेटघाट र छलफलका लागि बिहीबार बिहान कतार आइपुगेका हुन् ।
प्रवासी नेपाली सम्पर्क विभाग दोहा कतारको आयोजनामा शुक्रबार ओएसीस बिच क्लबमा दिउँसो १ बजेबाट शुरु हुने ‘विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’लाई नेताद्वयले सम्बोधन गर्ने तालिका रहेको छ l
उनको स्वागतका लागि हमाद विमानस्थलमा विभाग कतारका सभापति अब्दुल करिम मियासहित पार्टीका उपसभापति, प्रमुख सचेतक, प्रवक्ता, सह-कोषाध्यक्षलगायत समितिका पदाधिकारी तथा अन्य व्यक्तिहरू पुगेका थिए l दुई दिन कतारमा रहेर सभापति लामिछाने बेलायत जाँदैछन् l रास्वपाले विश्वका ३० भन्दा बढी देशमा प्रवास समिति गठन गरिसकेको छ l

