चितवन, पुस ११:काठमाडौंको हिमालयन कलेज अफ इन्जिनियरिङमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका २२ वर्षीय युवा नारायणगढबाट बेपत्ता भएका छन् । पुस ५ गते कलेज जान्छु भनि घरबाट बिहान सवा ६ बजे निस्किएका गुरुप्रसाद अर्याल (भविष्य) नारायणगढको नारायणी पुलबाट बेपत्ता भएका हुन् ।
उनले प्रयोग गर्दै आएको मोबाइल नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा काम गर्ने महिलाको साथबाट बरामद गरिएको उनका बुबा गोविन्द अर्यालले बताए । ती महिलाले नारायणीको पुल नजिकै मोबाइल भेटेको बताएको बुबा गोविन्द अर्यालले बताए ।
नारायणी पुलको सिसि क्यामरा हेर्दा छोरालाई पुलमा देखिएको तर वारपार गरेको नदेखिएको उनले बताए । कलेज जान्छु भनि निस्किएको छोरो बेलुकी म अफिसबाट घर आइपुग्दा पनि नआएपछि मैले फोन गरे । फोन लागेको केहि समयमै फोन अफ भयो’, बुबा गोविन्द अर्यालले भने, ‘मोबाइल ट्रयाक गर्दै जाँदा नारायणगढको पोखरा बसपार्कको एउटा होटलमा काम गर्ने राम्रोसँग बोल्न नसक्ने महिलाको साथमा फेला प¥यो । छोरो भने भेटिएको छैन ।’
उनका अनुसार छोरासँग घरमा कुनै विवाद थिएन । सिभिल इन्जिनियरिङ छैठौँ सेमिस्टरमा अध्ययन गर्दै गरेको छोराको खोजीमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । छोराको खोजीका लागि उनीहरुले काठमाडौँ, चितवन र गैंडाकोट प्रहरीमा पनि निवेदन दिएका छन् ।
छोराले कालो टोपी, कालो ज्याकेट र कालो ट्राउजर लगाएको उनले बताए । छोरालाई देख्नेले ९८४१५६७६६२ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन उनले अनुरोध गरे । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख बसन्त पाण्डेका अनुसार बेपत्ता भएका गुरुप्रसाद अर्यालयको खोजी गर्ने काम भइरहेको छ । ‘पुलबाट कता जानुभयो भनेर हामीले सिसि क्यामरा हेरिरहेका छौँ, यकिन भएको छैन । उहाँको आफन्तहरु पनि हाम्रो सम्पर्कमा आउनुभएको छ’, उनले भने ।