नरेन्द्रराज सुवेदी, भरतपुर—२६, चितवन : म हुर्केको समाजमा फर्केर हेर्दा राजनीतिक÷सामाजिक आयतन भएका व्यक्तिहरूमा एक पृथ्वीमान गुरुङ, जो अहिले गण्डकी प्रदेशको बहालवाला प्रदेश प्रमुख हुनुहुन्छ ।
दोस्रो मेरा ठुलाबुबा श्यामानन्द सुवेदी र बुबा लोकेन्द्रराज सुवेदीका भिनाजु र हाम्रा फुपाजु स्वर्गीय श्री गुरुदत्त पौडेल हुनुहुन्थ्यो । आजको परिस्थितिमा वस्तुनिष्ठ भएर विचार राख्दा समकालीन नेताहरूभन्दा उहाँहरू दुबै जना पदीय दायित्व निर्वाह गरेर पनि निष्कलङ्क छवि बनाउन सफल व्यक्तित्वहरू हुन् भन्नालाई कुनै सङ्कोच हुँदैन । यो नै उहाँहरूको राजनीतिक÷ सामाजिक जीवनको पुँजी हो ।
राजनैतिक नैतिकताको खडेरी लागेका बेला हामी सबैका अग्रज, प्रजातन्त्रका हिमायती, चितवन जिल्लाका ने.का. जिल्ला सदस्य, पञ्चायत कालमा ने.का.को प्रतिनिधित्व गर्दै दुई कार्यकल दिव्यनगर गाउँ पञ्चायतका प्रधानपञ्च र एक अर्को कार्यकाल ०४६ को बहुदलपछि गा.वि.स. अध्यक्ष भई जम्मा १५ वर्ष अनवरत सेवा गर्नुभएका श्री गुरुदत्त पौडेलज्यूको ९२ वर्षको उमेरमा भएको स्वर्गारोहरणले हामी सबै प्रजातन्त्रवादीहरूलाई झनै मर्माहत बनाएको छ । शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतआत्माप्रति चिरशान्तिको कामना गर्दछु ।
हामी दाजुभाइ दिदी बहिनीहरू फुपूको घर जाने समाचार पाउँदा खुबै खुसी हुन्थ्यौँ । केही वर्षपहिले फुपूको पनि देहवासान भइ नै सक्यो । मानिसहरू आआफ्ना विशेषताले परिचय बनाएका हुन्छन् । फुपू अतिथि सत्कारको निम्ति निपुण । उहाँले पकाएको खानाको परिकार सबैका लागि तारिफयोग्य ।
त्यो अवसर बेला बेला हामीले पनि पाउँथ्यौँ । राजनीतिक÷सामाजिक जीवनमा होमिएका गुरुदत्त पौडेल (फुपाजु) को सफल समाजसेवी बनिनुमा हाम्री फुपूको ठुलो हात छ । यसै सिलसिलामा एउटा राजनीतिक परिवर्तनको सँघारमा मुलकु गइरहेका बेला (२०४६ साल) संयुक्त जनआन्दोलन घोषणा भएपछि पञ्चायतले व्यापक धरपकड, अत्याचारपूर्ण व्यवहार, निर्मम दमन र आन्दोलनकारीहरू हताहत हुन थालेपछि आन्दोलनमा सक्रिय गुरुदत्त पौडेललाई मृत्युबाट जोगिएरै सङ्घर्ष गर्नुपर्छ भन्ने ध्येयका साथ सुरक्षित लुकाइ गर्नका लागि फुपूले नै हाम्रो घर आई बुबाआमालाई तदनुरूप व्यवस्था गर्न आग्रह गर्नुभयो । यसमा फुपूको व्यावहारिक पक्ष घतलाग्दो छ । फुपाजु साँच्चिकै प्रधानपञ्च यस्तै हुनुपर्छ भन्ने छाप दिन सक्ने व्यक्तित्व हुनुहुन्थ्यो ।
अनुशासित ब्राÞह्मण परिवारमा जन्मिएकाले मदिरा लगायत कुनै पेय सेवन वर्जित थियो । दौरासुरुवाल, कोट, ढाका टोपी, चस्मा, टिलिक्क जुत्ता सफाचट व्यक्तित्व फोनिक्स साइकलमा ठाडो शिर गरेर साइकल चलाउँदै गा.वि.स. जाने व्यक्तिको त्यो व्यक्तित्व जो कोहीको लागि पनि बिलकुल प्रेरक थियो । कतै पढेको थिएँ— रोजा पार्कले भनेको –”Each Person must live their life as a model for others” हो यो कुरा उहाँमा लागु हुन्थ्यो । स्वभावले निडर भएकाले मेरा बुबा र ठुलाबुबा भन्नुहुन्थ्यो, “हाम्रा भिनाजुको विशेषता भनेकै प्रतिकुल परिस्थितिमा पनि दह्रो गरी उभिने हो ।” नेतामा हुनुपर्ने गुण उहाँमा थियो । उहाँ खानामा असाध्यै सौखिन । त्यही सौखिन बानीलाई बुझेर मेरी आमाको पकाउने कौशलका कारण उहाँले दुःख पाउनुहुन्छ भनेर फुपूले त्यो तारतम्य मिलाउनुभएको हो । मिठो खाना हाम्रो घरमा बन्थ्यो नै, अझ फुपाजुलाई गुप्तवास बसाल्दा आमाले डेढ महिना खुबै मेहनत गर्नुभयो । हाम्रो घर वास्तवमा राजीतिक आश्रम थलो पनि थियो, ने.का.को इमानदार कार्यकर्ताको घर । सायद त्यो इमानदारिताले होला त्यही गा.वि.स. स्तरको ने.का.को सभापति बन्नुभयो मेरा बुबा लोकेन्द्रराज सुवेदी । फुपाजु भान्छाको चौका, जो प्रायः ब्राÞह्मणको घरमा हुन्छ, लुगा फेरेर आरामसँग बसी खानाको स्वाद लिएर खानुहुन्थ्यो । प्रत्येक खानामा सुकेको खुर्सानी तेलमा तारेर लेऊ भन्नुहुन्थ्यो । आमा त्यसरी नै दिनुहुन्थ्यो । हामी सानै थियौँ— स्कुले विद्यार्थी, उहाँको अगाडि खुबै अनुशासित भएर बस्थ्यौँ र खान्थ्यौँ । तर बुबा बाहिरतिर पञ्चायतले छोडेको सुराकी आए कि भनेर निगरानी गर्नुहुन्थ्यो । कतिपटक त खाना खाँदाखाँदै पछाडि ढोकाबाट भगाउनुहुन्थ्यो । रातमा टाढा टर्च बालेर केही आउँदाबित्तिकै घरबाट निकालिहाल्नुहुन्थ्यो । त्यो गजब समय थियो राजनीतिको । राजनीति के रहेछ त भन्ने कुरा बुझ्ने अवसर मिलेको थियो मेरा लागि पनि ।
चारैतिर पाली, तला भएको घर र त्यो तलामा खडैैले बारेको एउटा गोप्य कोठा उहाँको लागि बनाइएको थियो । ने.का. इमान्दार कार्यकर्ता भेट्न आउने, भलाकुसारी गर्ने, योजना बनाउने काम हुन्थ्यो । त्यति बेला एकनाथ रानाभाट, लक्ष्मीकान्त दवाडी, रामकृष्ण घिमिरेलगायत अरू धेरै आइरहन्थे । एक रात ११ बजे राती पृथ्वीमान गुरुङ झ्याप्पै आउनुभयो । सधैँ सफाचट देखिने पृथ्वीमान झ्याम्म दारी पालेर भेष बदलेर घरभित्र छिर्नुभएको थियो । रुघाखोकीले ग्रस्त ! चामल भुटरे पानी हालेर खाए छिट्टो निको हुन्छ भनेर ठुलाबुबाले भन्नुभयो ।
आमाले त्यसरी दिनुभयो । तर सबै खान सक्नुभएन, मिठो पनि त थिएन त्यो चिज ! केही बेर बसेर भलाकुसारी गरेर उहाँ अन्तै जानुभयो । त्यहाँ बस्नु दुई नेता ठिक पनि त थिएन । डेढ महिनासम्म सुरक्षित रहनु तत्कालीन अवस्थामा ठुलो कुरा थियो । नेपाली काङ्ग्रेसका कार्यकर्तामा ठुलो ऊर्जा थियो । पञ्चायतको त्यो कालरात्रीमा पनि जोस, जाँगर र सपना थियो । पार्टीको लागि ज्यान दिन्थे । नेताका लागि कार्यकर्ताले सबै थोक दिन्थे । त्यो बेला र यो बेला आकाश जमिनको फरक छ । विश्वास गुमेको छ । आशा मरेको छ । भविष्य अन्धकार देखेको छ । आजका सही कार्यकर्ताले बी.पी.ले भने जस्तै एकचोटि इमानदार कार्यकर्ताले पार्टीमा हस्तक्षेप नगरी यो पार्टी बन्ने देखिँदैन । यसो नगरे पार्टीलाई सर्वोपरि ठान्ने स्वर्गीय आत्माहरूले पनि शान्ति पाउने छैनन् ।
अनुशासित ब्राह्मण परिवारमा १९८८ मा जन्मी, शिक्षादिक्षा लिई पर्वत चुवाको जमलधारी पाठशाला स्थापना गरी केही समय शिक्षक पेसामा आबद्ध भई २०१९ सालमा भरतपुर–२६, दिव्यनगर, खद्रौलीमा राजनीतिक÷सामाजिक कर्मभूमि बनाई क्रियाशील हामी सबैको अग्रज व्यक्तित्व निष्कलङ्क छविका स्वर्गीय गुरुदत्त पौडेल (मेरा फुपाजु) को आज पर्न गएको १२ औँ पुण्य तिथिमा मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । शोक सन्तप्त परिवारमा पुग्न गएको गहिरो चोटमा पुनः समवेदना प्रकट गर्दै दाइहरू यम शर्मा पौडेल, बाबुराम पौडेल, शालिकराम पौडेल, उत्तम पौडेल साथै दिदीहरू, भाउजूहरू सबैप्रति यस घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गर्दछु ।
लेखक प्रजातन्त्रबादी प्राध्यापक संघ सरस्वती क्याम्पस काठमाडौँका सभापति हुनुहुन्छ।