सातौँ बागलुङ महोत्सवको ११ औँ दिन शनिबार राति प्रहरीको आक्रमणबाट घाइते भएका नेपाल पत्रकार महासंघ बागलुङका सचिव तथा ईपरी न्यूज डट कमका सम्पादक विजय राना माथि प्रहरीले गरेको आग्रमण गरेपछि महासंघसहित विभिन्न पत्रकार संगठनहरुले भर्त्सना गरेको छ ।
प्रहरीले महोत्सवमा सहभागी भएर फर्किदै गरेका नागरिकमाथि निमर्म कुटपिट गरि रहेको र पत्रकार रानाले त्यसको तस्बिर र भिडियो खिच्दा उल्टै मोबाइल खोसेर उनलाई लाठी प्रहार गरेको थियो । प्रहरीको प्रहारले रानाको बाँया हातको हड्डी चर्किएको र शरीरका विभिन्न अंगमा निलडाम बसेका छन् ।
प्रगतिशिल पत्रकार संघ नेपाल, नेपाल पत्रकार महासंघ बागलुङ, नेपाल प्रेस युनियन बागलुङ र प्रेस चौतारी नेपालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् । महासंघ र संगठनहरुले पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै लेखिएको देशमा यस्तो घटना हुनु निन्दनीय बताउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र रानामाथि ज्यादती गर्ने प्रहरीमाथि कारवाही साथै उनको निःशुल्क उपचार गर्न माग गरेका छन् । प्रहरीले रानासहित अन्य कयौँ नागरिकलाई निर्मम कुटपिट गरेको थियो ।