भरतपुर, माघ ४ : उपभोक्ता हकहितको संरक्षण गर्ने उदेश्यले भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको छ । गुनासो र उजुरीको आधारमा बजार अनुगमनलाई तिब्रता बनाएको भरतपुर महानगरापलिका उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो ।
सार्वजनिक सस्था (विशेषगरि विद्यालय र स्वास्थ्य कार्यालर्य)को वरपर सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाईने विषयलाई थप प्रभावकारी बनाउन बुधबार भरतपुर महानगरपालिकाले भरतपुर १ पोखरावसपार्क स्थित आदिकवि भानु मावि, रामनगर स्थित रामनगर मावि र भरतपुर २९ स्थित जुगेडी माविको वरपर अनुगनम गरेको छ । अनुगमनको क्रममा विद्यालय क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने गरेको पाईएकोले चुरोट, सुर्ति, भोला गुड्खा जफत गरि नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिनु भयो ।
यसैगरी बुधबार नै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले लायन्सचोक स्थित मासु पसलमा पनि अनुगमन गरेको छ । ति मासु पसलमा असुरक्षित तथा खुल्ला रुपमा मासु विक्री वितरण गरेको पाईएकोले सरसफाईसहित धुलोले असर नगर्ने गरि व्यवस्थित रुपमा पसल संचालन गर्न निर्देशन सहित पसल बन्द गराईएको छ ।
पछिल्लो समय भरतपुर महानगरपालिकाले सार्वजनिक सस्थाहरुको वरपर सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमन केन्द्रित गरेको जानकारी दिँदै अधिकृत सापकोटाले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को कार्यान्वयनको क्रममा भरतपुर महानगरपालिका भित्र रहेका सार्वजनिक सस्थाहरुमा सुर्तिजन्य पदार्थ सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको वताउनु भयो ।
सार्वजनिक सस्थाको एक सय मिटर वरपर र गर्भवती तथा १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने भन्दै भरतपुर महानगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरिसकेको सापकोटाको भनाई थियो । अनुगमनमा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य एवं बजार अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेल, सदस्य गोपाल दराई, भरतपुर १ वडाध्यक्ष केशव महर्जन, जनस्वास्थ्य अधिकृत केशव भट्ट, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सुनिल लम्साललगायतको सहभागिता रहेको थियो ।